२१ असार, काठमाडौं । आदिकवि भानुभक्तको २०३ औं जन्मजयन्तीका अवसरमा मंगलबार राजधानीमा प्रसिद्ध कविहरुको कविता मंचन गरिएको छ । ललितपुरस्थित लिटिल एञ्जल्स स्कुलको आयोजनामा मंगलबार कविता मंचन प्रतियोगिताको आयोजना गरिएको हो । १८ विद्यालयका विद्यार्थीबीच भएको प्रतिश्पर्धामा वृहस्पति विद्या सदन प्रथम भएको छ । सदनकी विहानी पंगेनीले ‘आमाविहीन सन्तान म’ कवितामा गरेको अभिनयले प्रथम स्थान हासिल गरेको हो ।
दोस्रो स्थान महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘पागल’ कवितामा त्रियोग सेकेण्डरी स्कुलकी सम्पदा उप्रेतीको प्रस्तुतिले प्राप्त गरेको छ । तृतीय स्थान वेस्ट सेकेण्डरी स्कुलका प्रज्ज्वल पुरीले मित्रलाई पत्र शीर्षकको जयफिञ्जु लामाको कवितामा प्राप्त गरेका छन् । शान्त्वना पुरस्कार एम्बिसन एकेडेमीकी प्रेरणा भट्टराई र मोक्षदा स्कुलकी सुवर्ण लामाले प्राप्त गरे । प्रेररणा र सुवर्णले क्रमशः पारिजातको ‘मानुषी’ र भूपि शेरचनको ‘मेरो चोक’माथि अभिनयात्मक प्रस्तुति गरेका थिए ।
प्रथम हुनेलाई ७ हजार, दोस्रो हुनेलाई ५ हजार, तेस्रो हुनेलाई ३ हजार र सान्त्वना पुरस्कारका रुपमा २ जनालाई २/२ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कविता मंचन प्रतियोगिताका निर्णायकहरुमा नाटककार अशेष मल्ल, कवि तथा नाटककार विप्लव ढकाल र कवयित्री मोमिला रहेका थिए ।
लिटिल एञ्जल्स स्कुलले हरेक वर्ष आयोजना गर्ने अभिनायात्मक कविता वाचन प्रतियोगितामा आयोजक भने अप्रतियोगी रहेको थियो । लिटिल एञ्जल स्कुलले अप्रतियोगी कविता मंचन गरेको थियो । विप्लव ढकालको कविता ‘बेड नम्बर हराएका बेडहरु’ शीर्षको कवितामा विद्यार्थीहरुले मंचन गरेका थिए । कवितालाई नाटकको रुपमा प्रस्तुत गरेका थिए लोकप्रिय नाटक निर्देशक कृष्ण शाह ‘यात्री’ले । यस नाटकमा विद्यार्थी कलाकारहरु आख्यान चापागाई, अशिम कार्की, उज्ज्वल थापा नदीका गिरी रुपेश गिरी, मुस्कान उप्रेती, कीर्ति राजभण्डारी, श्रेया अग्रवालले अभिनय गरेका थिए ।
फरक शैलीले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न कविता मंचन कार्यक्रम गरिँदै आएको जानकारी लिटिल एञ्लल्स स्कुलका प्रधानाध्यापक मुकुन्दराज शर्माले दिए । आफ्नै कन्सेप्टमा छ वर्षअघि यस्तो प्रतिश्पर्धाको सुरुवात गरिएको र गत वर्ष भूकम्पका कारण मात्रै गर्न नसकिएको उनले बताए ।
कवितालाई नाटकका रुपमा मंचनको सुरुवात चालीसको दशकमा अग्रज नाटककार अशेष मल्लले गरेसँगै नेपालमा कवितालाई नाट्य रुपान्तर गर्ने क्रमको सुरुवात भएको हो ।
आफूले त्यही पदचापलाई पछ्याएको नाटक निर्देशक यात्रीले बताए । कवितालाई मंचन गर्नाले कविताको लोकप्रियता बढ्ने र रंगमंचका दर्शकले पनि नयाँ स्वाद पाउने भएकोले कविताको मंचनमा आफू लागेको उनले बताए । नाटक निर्देशक यात्रीले लोकप्रिय कविहरु लक्ष्मीप्रसाद देवकोटा, भूपि शेरचन, वैरागी काइँला, कृष्ण सेन ईच्छुकलगायतका करिब एक दर्जन कवितालाई रंगमंचमा प्रस्तुत गरिसकेका छन् ।




















