२९ मंसिर, मोरङ । पार्टीका चर्चित नेता शेखर कोइराला पराजित भएको मोरङमा समानुपातिकतर्फ भने कांग्रेसको सबैभन्दा बढी मत आएको छ । प्रतिनिधिसभाको समानुपातिकको मतगणनामा मोरङमा नेपाली काँग्रेसले पहिलो स्थान प्राप्त गरेको हो ।
मोरङको ६ वटै निर्वाचन क्षेत्रको मतगणना भैसक्दा कांग्रेसले १ लाख ६० हजार ५४६ मत प्राप्त गरी पहिलो बनेको हो । नेकपा एमालेले मोरङमा १ लाख ४४ हजार ८२४ मत प्राप्त गरी दोस्रो स्थान प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले ४४ हजार ९५१ मात्रै मत प्राप्त गरी यस जिल्लामा तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै, संघीय समाजवादी फोरम नेपालले २९ हजार ३१५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय जनता पार्टीले आठ हजार ८९७ मत प्राप्त गरेका हुन् ।
मोरङमा समानुपातिकतर्फ ४ लाख ५९ हजार १७२ मत खसेकामा ४१ हजार ५७१ मत बदर भएको थियो ।