२१ पुस, काठमाडौं । नेपाल सरकारले राष्ट्रियसभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निर्वाचन आयोगले दिएको समयसीमाभन्द १ दिनपहिलेका लागि निर्वाचनको मिति तोकेको हो । निर्वाचन आयोगको परामर्शअनुसार राष्ट्रियसभाको निर्वाचन माघ २४ का लागि तोकिएको समेत सरकारले जनाएका छ ।
आयोगले माघ २५ को मिति प्रस्ताव गरेको थियो । एमाले र माओवादी केन्द्र सम्मिलित वामगठबन्धनले त्यसअघि नै चुनाव गर्नु पर्ने माग गर्दै आएका थिए । सरकारले वामगठबन्धनको मागविपरीत निर्णय गर्दै राष्ट्रियसभाको निर्वाचनको मिति तोकेको हो ।
५९ सदस्यीय राष्ट्रियसभाका ५६ जना (प्रत्येक प्रदेशबाट ८/८ जना) प्रदेशहरुबाट चुनिनेछन् । तीन जना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।
राष्ट्रियसभामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुनेछन् । सबै मतदाताको मतभार भने फरक फरक हुनेछ ।
निर्वाचन आयोगले प्रत्येक प्रदेशमा मतदान गराउने तयारी गरेको छ । निर्वाचन एकल संक्रमणीय र बहुमतीय दुबै प्रक्रियाबाट हुनेछन् । खुला सदस्य र महिला गरी ४२ जना एकल संक्रमणीयबाट चुनिनेछन् भने दलित र अपाङ्ग तथा अल्पसंख्यक १४ जना बहुमतीयबाट चयन हुनेछन् ।
मन्त्रीपरिषद्को निर्णयसँगै निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचनको तयारी थाल्ने छ । मतदाता सचेतना लगायतका तयारी निर्वाचन आयोगले गर्ने जानकारी आयोगका सदस्य नवराज ढकालले दिएका छन् ।