८ पुस, काठमाडौं । निर्वाचनको मतगणनाका क्रममा धाँधली भएको र निष्पक्षता नभएको भन्दै दायर भएका ३ मुद्दामा सात दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जवरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काले पुनः मतगणना गर्न माग गर्दै गरेको मुद्दामा अन्तरकालीन आदेशको छलफलका लागि यही पुस १९ गते झिकाउने र निर्वाचनमा प्रयोग भएका सबै मुचुल्का, मतपत्रलगायतका कागजात झिकाउनसमेत आदेश भएको छ ।
त्यसैगरी, आजै संवैधानिक इजलासले तनहुँ प्रदेशसभा क उम्मेदवार प्रदीप पौडेलले मतगणनाका क्रममा तनहुँमा धाँधली भएको भन्दै परेको मुद्दामा अन्तरकालीन आदेश दिने वा नदिने विषयमा छलफलका लागि यही पुस १९ गते झिकाउने आदेश जारी गरेको छ ।
त्यसैगरी, धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभाका उम्मेदवार रामसिंह यादवले धाँधलीपूर्ण तरिकाले निर्वाचन भएकाले सो निर्वाचन बदर गर्न माग गरेको मुद्दामा छलफल र अन्तरिम आदेश दिने वा नदिने विषयमा पुस १९ नै संवैधानिक इजलासले झिकाउने आदेश जारी गरेको छ ।