२९ मंसिर, काठमाडौं । प्रत्यक्षतर्फ सबै दलले भन्दा बढी सिट ल्याएको एमालेले समानुपातिकतर्फ पनि सबै दललेभन्दा बढी सभासद पाउने भएको छ । समानुपातिकातर्फको मतगणना अन्तिम चरणमा पुग्दा नेकपा एमालको मत सबै दलको भन्दा बढी छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा कांग्रेसभन्दा एमाले करिब १ लाख मतले अगाडि छ ।
निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान १० बजे प्राप्त जानकारीअनुसार, नेकपा एमालेले ३० लाख ६ सय ४१ मत प्राप्त गरेको छ । ८८ हजार मतान्तरले पछाडि रहेको नेपाली काँग्रेसले २९ लाख ११ हजार ८ सय १० मत ल्याएको छ । नेकपा माओवादी केन्द्र भने दुवै दलको भन्दा आधा मत पनि पुर्याएको छैन । माओवादीले १२ लाख २ हजार ९ सय ७७ मत मात्रै ल्याएको छ ।संघीय समाजवादी फोरम नेपालले ४ लाख २१ हजार ५ सय ५८ मत प्राप्त गरेको छ ।
यसपछि बढी मत ल्याउनेमा राष्ट्रिय जनता पार्टी नेपाल र विवेकशील साझा पार्टी रहेका छन् । मतगणना अन्तिम चरणमा पुगेको र यसपछिका राप्रपा लगायतका पार्टीले थ्रेसहोल्ड पुर्याउने सम्भावना सकिएको छ । यो तथ्यांकका आधारमा एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राजपा मात्रै राष्ट्रिय पार्टी हुने भएका छन् ।