१४ पुस, काठमाडौं । प्रदेशसभामा समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट संख्याका आधारमा बन्दसूची बुझाउने आज अन्तिम दिन हो । निर्वाचन आयोगले आज शुक्रबार कार्यालय समयभित्र दलहरुले प्रदेशसभा सदस्यका लागि नामावली बुझाउने अन्तिम समयसीमा तोकेको छ । अन्तिम समयसीमाभित्रै आफ्नातर्फबाट बन्दसूची बुझाउने तयारी राजनीतिक दलहरुले गरेका छन् ।
केही दलहरुले भने अन्तिम दिनभन्दा पहिले नै आफ्नातर्फबाट बन्दसूची पेश गरिसकेका छन् । विहीबार नेमकिपा, साझा विवेकशील र दुई नम्बर प्रदेशमा एक सिटमात्र पाएको नेपाल संघीयसमाजवादी पार्टीले समानुपातिकको सूची बुझाइसकेको जानकारी निर्वाचन आयोगका सहायक निर्वाचन अधिकृत गीताप्रसाद तिम्सिनाले दिएका छन् ।
प्रमुख दलहरुले भने शुक्रबारको समयसीमाभित्र आआफ्नो सूची बुझाउने तयारी गरेका छन् । नेकपा एमालेले प्रदेशसभामा समानुपातिकतर्फ पाएको ७५ सांसदको नामावली विहीबार टुङ्गो लगाएको र आज शुक्रबार आयोगमा बुझाउने तयारी गरेको छ । कांग्रेस र माओवादी दलले भने समानुपातिकबाट प्रदेश सांसद बनाउने व्यक्तिको सूची तयार पार्ने कसरत गरिरहेका छन् । प्रदेशसभामा कांग्रेसले ७२ र माओवादीले ३५ सिट पाएका छन् । संघीय समाजवादी फोरम नेपालले १३, राजपाले १२, राप्रपाले ३, साझा विवेकशीलले ३ र राष्ट्रिय जनमोर्चाले २ सिट छ।