१५ दिनभित्र दल दर्ता गर्न राजनीतिक दलहरुलाई आयोगको आह्वान
१४ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश जारी नहुँदै निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको प्रक्रिया सुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा आयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको आयोगको बैठकले १५ दिनभित्र दल दर्ता गर्न राजनीतिक दलहरुलाई आह्वान गरेको हो ।
नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनु पर्ने व्यवस्था छ ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको र राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न गरी सङ्घीय संसद्को निर्माण गर्ने क्रममा निकट भविष्यमै हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले दल दल दर्ताका लागि आह्वान गरेको हो ।
आयोगका सहसचिव एवम् प्रवक्ता दिनेशकुमार घिमिरेले २०७४ साल असार मसान्तसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दललाई राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि १५ दिनभित्र निवेदन दिन आह्वान गरिएको बताए । दलहरूले निवेदन दिँदा आर्थिक वर्ष २०७३÷७४ को वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने आयोगले जनाएको छ ।