२७ मंसिर, काठमाडौं । मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण मतगणना सकिएको छ । सुनसरी क्षेत्र नं ३ को मतगणना सकिएसँगै प्रत्यक्षतर्फको मतगणना सकिएको हो । पछिल्लो परिणामअनुसार सुनसरी ३ बाट कांग्रेसका विजय गच्छदार प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
मतगणना सकिएसँगै देशभरबाट प्रतिनिधिसभा सदस्यमा १६५ र प्रदेशसभा सदस्यतर्फ ३३० प्रतिनिधि निर्वाचित भएका छन् ।
पहिलो हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य १६५ र प्रदेशसभा सदस्य ३३० का लागि निर्वाचन भएको थियो ।
हालसम्म प्राप्त विवरणअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा एमाले का ८०, नेकपा माओवादी केन्द्रका ३६, नेपाली काँग्रेसका २३, राष्ट्रिय जनता पार्टी नेपालका ११ र संघीय समाजवादी फोरम नेपालका १० प्रतिनिधि निर्वाचित भएका छन् ।
यसैगरी, नयाँ शक्ति पार्टी नेपालका एक, नेपाल मजदुर किसान पार्टीका एक, राष्ट्रिय जनमोर्चाका एक र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रतिनिधि तथा स्वतन्त्र एक निर्वाचित भएका छन् ।