२१ पुस, काठमाडौं । काठमाडौंको पुरानो वस्तीका रुपमा रहेको असन र ईन्द्रचोकलगायतका क्षेत्र अब सवारी साधन निषेधित क्षेत्र हुने भएको छ । प्राचीन सम्पदाको रक्षा गर्न तथा साँघुरो सडक व्यवस्थापनका लागि भन्र्दै महानगरपालिकाले असन ईन्द्रचोक क्षेत्रमा कतै सवारी साधन निषेध त कतै चारपाङ्ग्रेस सवारी साधन निषेध गर्ने भएको हो ।
असन क्षेत्रका ११ वडाध्यक्ष र स्थानीय प्रतिनिधिले माघ २ गतेबाट इन्द्रचोकदेखि क्षेत्रपाटीसम्म चारपाङ्ग्रे सवारी निषेध गर्ने निर्णय गरेका छन्। वडा नम्बर १७, १८, १९, २४, २५ र २७ मा पर्ने असनसहित इन्द्रचोक, मख्खन, त्यौड, ठैंटी, भेडासिंह, नरदेवी, किलागल लगायत काठमाडौंका भित्री क्षेत्र चारपाङ्ग्रे सवारीमुक्त हुनेछन्।
करिब डेढ महिनाभन्दा बढीको तयारीपछि बुधबार यस क्षेत्रका वडाध्यक्ष, स्थानीय प्रतिनिधि र ट्राफिक व्यवस्थापन महाशाखाको बैठकले यस्तो निर्णय गरेको छ।
यस क्षेत्रलाई सवारीमुक्त बनाउँदा व्यापारिक कारोबारमा नकारात्मक असर पर्ने व्यवसायीहरुको धारणा छ । व्यवसायीहरुले यो व्यवस्था कार्यान्वयन नगर्न दवाव दिइरहे पनि काठमाडौंको प्राचीन संस्कृति र सभ्यताको संरक्षणका लागि निर्णय कार्यान्वयन गरेरै छाड्ने प्रतिबद्धता सरोकारवाला निकायका प्रतिनिधिले गरेका छन् ।
पहिलो चरणमा स्थानीयका चारपाङ्ग्रे निषेध नगरिने र बाहिरबाट भने त्यस्ता सवारी लग्न नपाइने नियम बनाइने भएृको छ । एम्बुलेन्स, खानेपानी ट्यांकर, आपतकालीन सामग्री ढुवानीका गाडीले पनि प्रवेश पाउने छन् ।
कुनै बाटोमा चारपाङ्ग्रे सवारी पूरै निषेध गरिने छ भने कतै एकतर्फीमा सीमित गरिने छ। इन्द्रचोक र भोटाहिटीबाट असन छिर्ने बाटोमा निषेध गरिने छ। त्यस्तै, इन्द्रचोकबाट जुद्ध शालिकतिर पनि आउन पाइँदैन। क्षेत्रपाटीबाट वसन्तपुर आउने बाटो दुईतर्फी भएकामा अब एकतर्फी बनाइएको छ। ठैंटीबाट क्षेत्रपाटी जान पनि एकतर्फी नै हुनेछ।