१३ माघ (२०७६) / काठमाडौं प्रतिनिधिसभाको सभामुख पदमा अग्नि सापकोटा निर्विरोध निर्वाचित भएकोप्रति देशभित्रैका केही व्यक्तिहरु विरोधमा उत्रिरहेका वेला छिमेकी देश चीनले भने खुशी देखिएको छ । सापकोटाले राष्ट्रपति भवनमा पद तथा गोपनीयताको सपथ लिँदै गर्दा आफूहरुलाई मानवअधिकारकर्मी बताउने केही व्यक्तिहरुले शितलनिवासबाहिर प्रदर्शन गरेका थिए । तर, सापकोटा सपथ ग्रहण गरेर सिंहदरबार पुग्ना साथ चीनकी राजदूत होउ यान्छीले त्यहीँ पुगेर यसबाट चीन सबैभन्दा खुशी भएको सन्देश दिएकी छन् ।

सिंहदरबारस्थित सभामुखको कायालयमा सापकोटाले पदभार ग्रहण गरेलगत्तै चिनियाँ राजदूत यान्छी बधाई दिनका लागि त्यहाँ पुगेकी थिइन् ।
एमसिसी काण्ड उच्च बहसमा रहेका वेला सभामुख बनेका सापकोटोले एमसिसीलाई संसदबाट तत्कालै अनुमोदन गराउने लक्षण समेत देखाएनन् । पदभार ग्रहणका क्रममा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अहिले एमसिसीबारे कुनै हतार नभएको प्रतिक्रिया दिएर एमसिसीलाई आफूले कम प्राथमिकतामा राख्ने संकेत दिए । अहिले बहस छेडिएको भन्दै यसबारे तत्कालै हतार गरेर पारित गर्न आवश्यक नभएको उनले बताए । बहसले नै निष्कर्षमा पुर्याउने भन्ने सापकोटाको प्रतिक्रियाले एमसिसीबारे अन्योलता देखिएको छ ।