
नेपाली रामायणका रचयिता भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भगवान रामको जन्मस्थल अयोध्या नेपालमै रहेको बताउँदै नेपालीहरु भारतको सांस्कृतिक थिचोमिचोमा परेको अभिव्यक्ति दिएका थिए । जुन अभिव्यक्तिका कारण कतिपय भारतीय अतिवादी धार्मिक संगठनहरुले नेपालीमाथि दुर्व्यवहार गर्न थालेका हुन् ।
तथाकथित विश्व हिन्दू सेना नामक संगठनले भारतको उत्तरप्रदेशमा एक नेपाली युवामाथि गरेको दुर्व्यवहारको भिडियो भाइरल भएपछि भारतमा समेत यो घटनालाई संवेदनशील रुपमा लिइएको छ । नेपालीको समेत पवित्र तीर्थस्थल मानिने काशी अर्थात् वाराणसीको नदी किनारमा नेपाली युवकको कपाल मुण्डन गर्दै नेपालका प्रधानमन्त्री र नेपालविरुद्ध नारावाजी गर्न बाध्य पारिएको थियो ।
हेर्नुहोस् भिडियो
यो भिडियो खिच्ने व्यक्तिसहित घटनामा संलग्न ४ जनालाई उत्तर प्रदेश प्रहरीले गिरफ्तार गरेको छ । तर, सामाजिक संजालमा भिडियो पोस्ट गर्ने तथाकथित विश्व हिन्दू सेनाका अध्यक्ष अरुण पाठक भने फरार रहेका छन् । गिरफ्तार भएका अरुणकाका सहयोगी सन्तोष पाण्डेले सो भिडियो आफ्नो मोबाइलबाट रविदास घाटमा खिचिएको वयान दिएका छन् । प्रहरीले सो मोबाइलसहित भिडियो समेत जफत गरेको जानकारी दिएको छ ।
नेपाली युवकमाथि यो दुर्व्यवहार गर्नुभन्दा पहिले अरुण पाठकले शहरका कतिपय स्थानमा पोस्टर टाँसेर नेपालका प्रधानमन्त्रीले माफी नमागे भारतमा रहेका नेपालीले गम्भीर परिणाम व्यहोर्नुपर्ने चेतावनी दिएका थिए ।