२१ पुस, काठमाडौं । निर्वाचनमा पराजय भोगेपछि राप्रपा अध्यक्ष कमल थापाले आफ्नो दल पराजित हुनुको कारण कांग्रेस भएको आरोप लगाएका छन् । कांग्रेसकै कारण आफ्नो दल पराजित भएको तथा पार्टी विभाजन अर्को प्रमुख कारण रहेको भन्दै थापाले केन्द्रीय समिति सदस्यहरुलाई मनाउने प्रयास गरेका छन् । केन्द्रीय समिति बैठकमा थापाको राजिनामाको माग भएपछि उनले पराजयको दोष अरुलाई थोपर्दै पद बचाउने कार्य गरेका हुन् । त्यतिमात्रै होइन उनले पराजयको थप अध्ययनअनुसन्धान गर्ने भन्दै नेताहरुलाई थामथुम पार्ने कोसिस गर्दै पार्टीको केन्द्रीय समिति बैठक अन्त्य गरेका छन् ।
पुस १९ गतेदेखि सुरु भएर शुक्रबारसम्म बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले समान विचार भएका र फुटेर गएका राजनीतिक शक्तिहरुबीच एकता गर्ने निर्णय गरेको हो ।
निर्वाचनको पूर्वसन्ध्यामा भएको पार्टी विभाजन नै पराजयको मुख्य कारण भएको ठहर केन्द्रीय समिति बैठकले गरेको छ । विभाजनकै कारण पराजय भोग्नुपरेको भन्दै विभाजित शक्तिबीच एकताको पहल गर्ने निर्णय गरेको जानकारी शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले दिए ।
केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष कमल थापाले पदबाट राजिनामा दिनुपर्ने माग भएपछि सो मागलाई थामथुम पार्न पार्टी एकताको आह्वान गर्ने गरी थापाले आफ्नो पक्षमा निर्णय गराएको राप्रपाका एक केन्द्रीय सदस्यले बताए। राप्रपाले निर्वाचनमा हार व्यहोर्नुको अर्को कारणका रुपमा कांग्रेससँगको लोकतान्त्रिक गठबन्धनमा गरिएको तालमेल पनि कारण रहेको निर्णय गरेको छ । लिखित रुपमा भएको सम्झौतानुरुप नेपाली काँग्रेसले राप्रपालाई प्रतिनिधिसभा र प्रदेशसभामा सिट नदिनु तथा स्थानीय तहमा इमान्दारीपूर्ण सहकार्य नहुनु पराजयको अर्को कारण भएको ठहर बैठकले गरेको छ ।
चुनावमा पार्टीको अप्रत्याशित परिणामको कारण र आधारबारे विस्तृत अध्ययनअनुसन्धान गरी भविष्यका लागि सुझावसहितको प्रतिवेदन तयार गर्न बैठकले डा विष्णु भण्डारीको संयोजकत्वमा निर्वाचन समीक्षा तथा अध्ययन समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्य गोविन्द खनिया, भक्ति सिटौला, चन्द्रेश्वर राय यादव, धनबहादुर बुढा, प्रकाश रिमाल, विजयलक्ष्मी सिंह र श्याम शाही सदस्य छन्। यो समिति गठन गर्नुको कारण पनि अध्यक्ष थापाले तत्काल राजिनामा दिनुपर्ने अवस्थाबाट बच्नका लागि गरिएको योजना भनी केन्द्रीय नेताहरुले नै आलोचना गरेका छन् ।
त्यस्तै राप्रपाले आगामी माघमा देशका सम्पूर्ण जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला तथा फागुनको दोस्रो हप्तामा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रीय अधिवेशन गर्ने निर्णय पनि समेत गरेको छ । पार्टीको वैचारिक एवं सांगठनिक कार्यदिशा, रणनीति र कार्यक्रम तयार गर्न केन्द्रीय परिषद्को बैठक आगामी फागुनको अन्तिम हप्ता वीरगञ्जमा आयोजना गरिने भएको छ ।