पछिल्लो समयमा सङ्गीत सुन्नेभन्दा हेर्ने संस्कृतिको विकास भएको छ । यही संस्कृतिकै कारण नेपाली सांगितिक क्षेत्रमा दिनानुदिन म्युजिक भिडियोको श्रृंखला बन्ने क्रम बढ्दो छ । चर्चा होस् या नहोस् गीत राम्रो होस् या नहोस् भिडियो बन्ने क्रममा कमी छैन ।
नेपाली म्युजिक भिडियोमा भएको विकाससँगै प्राविधिकहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । नयाँनयाँ प्रयोग गर्ने क्यामेरामेनहरु जन्मिएका छन् । यस्तै जमातमा देखिएका म्युजिक भिडियो छायाङ्कन गर्ने एक क्यामेरामेन हुन् ज्ञानेन्द्र शर्मा ।
शर्मा म्युजिक भिडियोहरुमा व्यस्त देखिन्छन् । आखिर के खुबीका कारण ज्ञानेन्द्र शर्मा नेपाली म्युजिक भिडियोमा जमिरहेका छन् त ?
सयभन्दा बढी म्युजिक भिडियोको छायाङ्कन गरेका शर्मा भन्छन् – ‘आफ्नो काम दृढ निश्चयका साथ गर्छु, त्यसैले काम गर्ने निर्देशकले कसैले मसँग गुनसो गरेको सुनेको छैन ।’
यतिवेला शर्मा क्यामेराम्यानमा मात्रै सिमित छैनन् उनले म्युजिक भिडियो निर्देशन समेत गर्न थालेका छन् । उनले गायक राजेश राईको चौथौ म्युजिक एल्बम तोडियो भाग २ को म्युजिक भिडियो निर्देशन गरेका हुन् । उनले निर्देशन गरेको नयाँ म्युजिक भिडियो भर्खरै युट्युबमा समेत हेर्न सकिन्छ ।
यस गीतमा शब्द र संगीत संयोजन गायक स्वयंको राजेशको रहेको छ । यस गीतको संगीत संयोजन ब्रिजेश श्रेष्ठले गरेका हुन् । रयापमा भने तोडियो कै रयापर साक्षत खानले साथ दिएका छन् ।
निर्देशक शर्माले मोडेल अलिशा राईसँगै अस्मिक, सविन र निर्मल दाहाललाई भिडियोमा अभिनय गराएका छन् । देवजंग थापाको कोरियोग्राफी रहेको भिडियोलाई उज्ज्वल ढकालले सम्पादन गरेका हुन् ।
हेर्नुहोस् म्युजिक भिडियो :















