१ चैत, काठमाडौं । किशोरअवस्थामा दायर भएको मुद्दा मान्छे बुढो भएर मरिसकेपछि मात्रै फैसला आउने नेपालको परिपाटीप्रति व्यङ्ग्य गर्दै कानुन व्यवसायीहरुले गीत तयार पारेका छन् । राज्य संयन्त्रको नीति नागरिकलाई मात्र लागू हुने तर राज्यले भने समयको कहिल्यै पालन गर्नुनपर्ने विकृत यथार्थलाई समेटेर कानुन व्यवसायीहरुको संस्था सोसल इन्जिनियरिङ् स्कुल नेपालले नयाँ शैलीको गीत बनाएको हो । ‘समय हाम्रो आयु, आयु नै हाम्रो जीवन हो…’ बोलको राष्ट्रिय गीत रेकर्डिङ सकिएर म्युजिक भिडियोको छायाङ्कन समेत गरिएको छ ।
राज्यले हरेक क्षेत्रमा उमेर र अवधिको सीमा तोक्ने तर राज्यले चाहिं धेरै अवधि गुजारिदिंदा मानिसको जीवनमा समस्या आएको विषयमा गीत तयार पारिएको कानुन व्यवसायी तथा गीतकार कपिलदेव ढकालले बताए । ढकाल सोसल इन्जिनियरिङ् स्कुल अफ नेपालका अध्यक्ष हुन् । गीतमा दीपक शर्माको संगीत रहेको छ भने अधिवक्ता विश्वमणि पोखरेल र गायिका सुमिना लो तामाङ्ले स्वर दिएका छन् ।
म्युजिक भिडियोको निर्देशन वसन्त सापकोटाले गरेका छन् । म्युजिक भिडियोमा विभिन्न पेशाकर्मीलाई मोडेलका रुपमा प्रस्तुत गरिएको छ ।
म्युजिक भिडियोमा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल, एमाले नेतृ रचना खड्का, माओवादी नेतृ तथा पर्यटन व्यवसायी लक्की शेर्पालगायत डाक्टर, पाइलट, इञ्जिनियर, पत्रकार, वकिल र विधार्थीलगायतले अभिनय गरेको संस्थाका सदस्य तथा अधिवक्ता भरत लामिछानेले जानकारी दिए ।
यो म्युजिक भिडियो व्यवसायिक उद्देश्यको नभई जन जागरण अभियानको लागि तयार गरिएको सम्पादनपश्चात सार्वजनिक गरिने समेत लामिछानेले बताए ।














