बलिउडका चर्चित अभिनेता आमिर खान आफैले दिएको सार्वजनिक अभिव्यक्तिका कारण विवादमा परेका छन् । राष्ट्रविरोधी अभिव्यक्ति दिएको भन्दै अहिले उनीविरुद्ध भारतमा प्रदर्शन समेत भएका छन् । उनीविरुद्ध प्रहरीमा उजुरी समेत परेको छ । देशमा असहिष्णुता बढेको र श्रीमतीले देश छोडेर जाने चिन्ता गरेको भन्दै एक कार्यक्रममा वक्तव्य दिएपछि उनीविरुद्ध उल्हास पिआर नामक एक सर्ट फिल्ममेकरले उजुरी दर्ता गराएका हुन् ।

उजुरी अशोकनगर प्रहरी थानामा दर्ता भएको छ । थानाका एक प्रहरीका अनुसार उल्हासले आमिर खानको भनाईप्रति असन्तुष्टी जनाउँदै लेखेका छन्,‘म पनि यसै देशमा बस्छु । तर, मलाई कहिल्यै यो महसुस भएको छैन, जस्तो आमिरलार्इ भएको छ । ठूला मान्छेले बयान दिनुअघि एकपटक सोच्नुपर्छ ।’
उल्हासले थपेका छन्,‘सेलिब्रेटीले केही बोल्नुअघि आफ्नो जिम्मेवारी पनि सम्झनुपर्छ । यदि शान्ति ल्याउन सकिँदैन भने केही बोलेर जनतामा डर पैदा गर्न पनि पाईँदैन ।’
उल्हासले यसअघि आमिर खानले ‘पीके’ फिल्ममा प्रहरीलाई ‘ठुल्ला’ भनेका कारणले पनि मुद्दा हालेका थिए ।













