साहित्यकार कृष्ण धरावासीको कथा झोलामाथि निर्मित चलचित्र झोलाबाट कलात्मक चलचित्रमा वाहवाही पाएकी नायिका गरिमा पन्तको अर्को गरिमायुक्त चलचित्र प्रदर्शनका लागि तयार भएको छ । साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास तीन घुम्तीमा आधारित चलचित्र तीन घुम्तीमा गरिमाले मुख्य पात्रको अभिनय गरेकी छिन् ।
‘तीन घुम्ती’ को आउँदो शनिबार नेपाल र नेपालबाहिर लण्डनमा एकसाथ प्रिमियर गरिने जानकारी निर्माण पक्षले दिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्माण युनिटले गरिमा अभिनित तीन घुम्ती चलचित्र हेर्न प्रधानमन्त्री सुशील कोइराला समेत सहभागी हुने दावी गरेको छ । जननायक वी।पी कोइराला स्मृति ट्रष्टका महासचिव तथा सभासद् रामचन्द्र पोखरेलले प्रधानमन्त्री कोइराला यो चलचित्र हेर्न आउने पुष्टी गरे । महत्त्वपूर्ण कुरा के भने जननायक विपी कोइराला ट्रष्टको सहकार्यमा तीन घुम्ती चलचित्र निर्माण गरिएको हो भने प्रधानमन्त्री कोइराला उक्त ट्रष्टका अध्यक्ष हुन् ।

चलचित्रका निर्देशक बाबुराम ढकालले ‘तीन घुम्ती’ लाई सर्जक र विशिष्ट व्यक्तिलाई देखाइसकेको र उहाँहरुबाट पाएको प्रतिक्रियाबाट आफू आशावादी रहेको खुलाए ।
पत्रकार सम्मेलनमा नायिका गरिमा पन्त र नायक सुशान्त कार्की सहभागी थिए । गरिमा र सुशान्त सँगै ध्रुव कोइराला लगायत कलाकारको अभिनय यस चलचित्रमा रहेको छ ।
नायिका गरिमा पन्तले साहित्यिक कृतिमाथि फिल्म बन्नु नै फिल्म क्षेत्रका लागि ठूलो कुरा भएको बताइन् । चलचित्रमा आफूले सक्दो अभिनय गरेको र बाँकी दर्शकको हातमा आफूले छाडेको उनले खुलाइन् ।
पत्रकार सम्मेलनमा चलचित्रको प्रोमो पनि देखाइएको थियो ।













