यस वर्षको राष्ट्रिय चलचित्र पुरस्कार कबड्डी चलचित्रले प्राप्त गरेको छ । वुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरे ।
उत्कृष्ट चलचित्र कबड्डीले उत्कृष्ट लेखनतर्फ पनि पुरस्कार पाएको छ । कबड्डी गत वर्ष प्रर्दशनमा आएका मध्ये पाँच हिट फिल्म मध्येको एक फिल्म हो जसले ब्यापार पनि निकै राम्रो गरेको थियो ।
उत्कृष्ट अभिनेतातर्फ भने दयाहाङ राईलाई सम्बोधन फिल्मबाट पुरस्कार प्रदान गरिएको छ । धेरैको अनुमानमा दयाहाङले कबड्डी फिल्मबाट पुरस्कार प्राप्त गर्ने अनुमान भए पनि उनलाई सम्बोधनबाट पुरस्कार दिइयो ।
यसैगरी अभिनेत्रीतर्फ टलक जंग भर्सेज टुल्केबाट ऋचा शर्मा र लभ यू बाबा बाट संगम विष्टलाई अवार्ड प्रदान गरिएको छ । उक्त माहोलमा ऋचा शर्मालाई अवार्ड प्रदान गरिएको बिषयमा पनि विभिन्न टिका टिप्पणी चलेको थियो । यस्तै टुल्केबाटै निश्चल बस्नेत उत्कृष्ट निर्देशक ठहरिएका छन् ।
समारोहमा छायांकन तर्फ शैलेन्द्र ध्वज कार्की झिगराना फिल्मबाट उत्कृष्ट छायाँकार बन्न सफल भए भने सोही फिल्मबाट सम्पादनमा निमेष श्रेष्ठलाई अवार्ड प्रदान गरिएको छ । यसैगरी आदिवासी जनजाति तर्फ मतान फिल्मलाई उत्कृष्ट फिल्म ठहार्याउदै अवार्ड प्रदान गरियो ।

वरिष्ठ चलचित्रर्मी नीर शाहलाई ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित दीर्घ साधना सम्मान प्रदान गरिएको थियो । गत वर्ष झण्डै ८७ वटा फिल्म रिलिज भएका थिए त्यसमध्ये चलचित्र बिकास बोर्डले झण्डै ६० वटा फिल्म हेरी यस पटकको राष्ट्रिय फिल्म अवार्ड गरेको हो ।
अवार्डका लागि बोर्डले करिश्मा मानन्धर, राजेन्द्र शलभ, कपिल पराजुली, हेमन्त बुढाथोकी र दीपेन्द्र लामाको निर्णायक मण्डल गठन गरेको थियो ।













