नवीन रायमाझी
बलिउड सुपर स्टार सलमान खान पछिल्लो चलचित्र बजरंगी भाइजानको अभिनयका कारण जति चर्चामा छन् त्यति नै चर्चामा छिन यस चलचित्रकी बाल कलाकार हर्षाली मल्होत्रा । त्यसो त हर्षालीले चलचित्र प्रदर्शन भैसकेपछि सलमान खान जस्तै लोकप्रिय (सुपर स्टार) बन्ने आफ्नो सपना रहेको खुलासा गरी सकेकी छिन् ।

भविष्यको सुपरस्टार बन्न चाहने हर्षालीले बजरंगी भाइजानमै चयन हुने क्रममा नै उनी स्टार जतिकै लोकप्रिय भैसकेकी थिइन् । किनभने, हर्षालीलाई निर्देशक कबिर खानले पाँच हजार बालिकामध्येबाट चयन गरेका हुन् । कबिर खानले समेत हर्षालीलाई राम्रो कलाकार भनी टिप्पणी गरेका छन् । यस बजरंगी भाइजान चलचित्रमा उनले बोल्न र सुन्न नसक्ने बालिका साहिदाको भूमिकामा अभिनय गरेकी छिन् ।
बजरंगी भाइजान भन्दा पहिले निर्माता सूरज बड़जात्याले आफ्नो सिनेमा प्रेम रतन धन पायोमा एउटा सानो भूमिकामा अभिनय गराउन खोजेका थिए, जुन चलचित्रमा समेत सलमान खान नै नायक थिए । तर अन्ततः हर्षालीले त्योभन्दा राम्रो चलचित्रमा अभिनय गरेर सबैलाई मोहित पारेकी छिन् । उनको अभिनय मात्र नभएर सुन्दरताको चर्चा बलिउडमा मात्र नभएर हिन्दी चलचित्रका दर्शककाबीचमा भइरहेको छ ।













