नेपाली नायिकाहरुलाई धनाढ्यहरुले गाडी वा स्कुटर किनिदिने गरेका गसिपहरु वेलावेलामा सुनिँदै आएका छन् । एक चल्तीका गायकलाई म्यानपावर व्यावसायी महिलाले कार किनिदिएको कुरा पनि केही वर्ष पहिले सतहमै थियो । चलचित्रमा व्रेक दिने नायिकालाई पछि पत्नी बनाउने जेष्ठ नागरिकहरु पनि नेपाली फिल्म उद्योगमा छँदै छन् । तर यतिवेला एउटी चर्चित नायिकाको गाडी कहाँबाट आयो भन्ने कानेखुशीले चलचित्र वृत्त तातेको छ । पति छाडेर बसेकी ती चर्चित नायिका हुन् प्रियंका कार्की । कुनै धनाढ्यले उनलाई कार किनिदिएको भए त पति छाडेर बसेकी नायिकामाथि कसैले कुरा काट्न सक्दैनथे होला । तर विडम्बनाको कुरा के भयो भने उनले भकम्पपीडितका लागि भनेर उठाएको रकमबाट गाडी किनेको हल्ला सनसनी फैलियो । लण्डनमा च्यारिटीका लागि उठाएको रकम उनले गाडी किन्न प्रयोग गरेका गसिपहरु विभिन्न अनलाइनमा प्रकाशित भए । चलचित्र उद्योगमा यो कुरा सनसनी फैलियो । चल्तीकी नायिका कार्कीलाई यो समाचारले नाकै देखाउन गाह्रो पर्यो र उनले आफ्नो फेसबुकमार्फत नै दर्शकहरुका लागि स्पष्टीकरण दिइन् । उनको स्पष्टीकरण यस्तो छ :
मेरो गाडीको विषयमा धेरै नाना थरी कुराहरु सुन्दै छु, पढ्दै छु। एकदम चित्त दुखेर आयो। मेरो सबै फ्यान र शुभचिन्तकहरुलाई मेरा केही कुराहरु राख्दै छु। पहिलो कुरा, भुकम्प जानू दुई दिन अगाडि गाडी घर भितराई सकेकी थिए। गडि किनेर घरमा पुजाको तयारी मात्र के गर्दै थियौ, २ दिन भित्रै बिनाशकारी भुकम्प आयो। त्यस पछि धेरै रात म त्यही गाडीमै सुतेकी पनि छु।
अब आयो यूकेको च्यारिटीको पैसा। त्यो पैसा अहिले सम्म हाम्रो यूकेको कार्यक्रम आयोजकहरुले नेपाल पठाउनु भएको छैन। हामी त्यहाँ हुँदा ५ वटा कार्यक्रमबाट ५ लाख उठाउन सफल भयौ।
तर त्यो ५ लाखमा अझै अरु पनि स(साना कार्यक्रमहरु गरेर अझै रकम थपेर नेपाल पठाउने भनेर त्यो पैसा अझै यूकेका आयोजकसँगै छ। रहयो कुरा मेरो यूकेको कार्यक्रमको पारिश्रमिकको, यूकेको कार्यक्रम भुकम्प जानू २ महिना अगाडी फाइनल गरिएको थियो। ५ शो गरे बापत यति पारिश्रमिक भनेर नि तोकिसकेको थियो, तर जब परिस्थिति त्यस्तो भयो, म, अन्जु पन्त दिदी र शिव परियारजीले लिनुपर्ने हाम्रो पारिश्रमिक पनि लिएनौ।
म आज निकै दुख साथ यी कुराहरु लेख्दै छु। जती जे गर्न खोजे पनि हामी सधै नराम्रो हुँदो रहेछौ। यूकेबाट फर्कदेखि मैले धेरै पटक गर्व साथ सेयर गरे कि हामीले ५ लाख उठायौ। के त्यो ५ लाखमा मेरो गाडी आयो होला तरुरु अलि अलि तपाईंहरु पनि बुद्धि लगाउनुस न। हुनै नसक्ने कुरामा यतिकै औंला उठाउने, आरोप लगाउने ?
म पनि त सामान्य घर कि सामान्य चेली हुँ नि। मैले पनि त धेरै मेहेनत गरेर पहिलो गाडी किन्दा, खुशी महसुस हुन्छ, साथी( भाइसँग, आफन्तहरुसँग, शुभचिन्तकहरुसँग खुशी सेयर गर्न मन हुन्छ। सायद यहाँहरुले मेरो खुशीमा साथ दिनुहुन्छ, मलाई बधाई दिनु हुन्छ भनेर सोच्नु नै मेरो मुर्खता रहेछ।
जुन दिन यूकेमा गरेको च्यारिटिको पैसा नेपाल आइपुग्छ, त्यो पैसा बोकेर ‘च्यारिटी मनी‘ एउटा कागजमा ठूलो ठूलो अक्षरले लेखेर, फोटो खिचेर हाल्ने छु। सबैलाई विश्वास गराउन त्यही गर्नुपर्ने रहेछ। यहाँको चलन यही रहेछ।
र अब अन्तिममा मेरा असली शुभचिन्तकहरुलाई, अहिले मलाई गलत आरोप लागि रहेको बेलामा यहाँहरुको जुन साथ पाइरहेकी छु, त्यसले शिर कहिले नझुकाउने प्रेरणा मिल्छ मलाइ, आत्मविश्वास मिल्छ मलाई, म एक्लै छैन भन्ने आभास हुन्छ। तपाईहरुको विश्वासलाई चोट पुराउने काम कहिले पनि गर्दिन।म आज यो कसम खान्छु ।













