२२ जेठ, काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको नयाँ अध्यक्षमा राजकुमार राईलाई नियुक्त गरेको छ । पाँच महिनादेखि रिक्त चलचित्र विकास बोर्डको अध्यक्षमा राजकुमार राईलाई नियुक्त गरिएको हो । शुक्रबारको संचारमन्त्रीस्तरीय निर्णयबाट राई बोर्ड अध्यक्षमा नियुक्त भएका हुन् । राई चलचित्र निर्माता संघका अध्यक्ष समेत हुन् । उनी कांग्रेस निकट मानिन्छन् । ५ महिनाअघि धर्मेन्द्र मरवैताले पद छाडेपछि बोर्ड अध्यक्ष विहीन भएको थियो । चलचित्र विकास बोर्ड नेपालको चलचित्र क्षेत्र हेर्ने सरकारी निकाय हो । यद्यपि यो निकाय स्वात्त नहुँदा संचारमन्त्रालयका कर्मचारीहरुको कार्यादेशमा चल्ने गरेको छ । चलचित्र विकास बोर्डको अध्यक्षका लागि नरेश पौडेल, शैलेश आचार्य समेत कसरतमा रहेको बताइएको थियो । सरकार परिवर्तन हुने संकेत देखिएपछि मन्त्री मिनेन्द्र रिजालले हतारहतारमा निर्णय गरी राईलाई नियुक्त गरेका हुन् ।













