वैशाख २५ – बलिउड अभिनेता सलमान खानले जेल जानु नपर्ने भएको छ । गाडी चलाउँदा मान्छे हानेर भागेको मुद्दामा अभिनेता सलमानले गरेको धरौटीमा छुट्न पाउने अपिललाई मुम्बई उच्च अदालतले स्वीकार गरेको छ । योसँगै सलमानले अब जेल बस्नु नपर्ने भएको हो ।
सलमानले अदालतमा पेश गरेको धरौटीमा छुट्न पाउनु पर्ने अपिलमा सुनुवाइ गर्दै अदालतले यस्तो फैसला गरेको हो । अदालतको यो फैसलापछि सलमानलाई अब हिरासतमा लिइने छैन । उनले जेल बाहिरै रहेर आफ्नो मुद्दा लड्न पाउने छन् ।
सलमानलाई ३० हजार भारतीय रुपैयाँ धरौटीमा छाडिएको सरकारी वकिल प्रदीप घरातले जानकारी दिएका छन् । अदालतले सलमानलाई धरौटीमा छाडेपनि तत्कालका लागि उनलाई विदेश जानबाट भने रोक लगाएको छ । यसअघि बुधबार मुम्बईको तल्लो अदालतले सलमानलाई दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो । अदालतको यो फैसला विरुद्ध सलमानका वकिलले उच्च अदालतमा अपिल गरेका थिए ।
सलमानमाथि सन् २००२ सेप्टेम्बर २८ को राति रक्सीले मातेर गाडी चलाएको आरोप लागेको थियो । सलमानले आफ्नो गाडी सडक पेटीमा सुतेका व्यक्तिमाथि कुदाएको र त्यसबाट एक जनको ज्यान गएको तथा अन्य चार जना घाइते भएको आरोप थियो ।
सलमानलाई जेल सजाय सुनाइएपछि बलिउडका दुई कलाकारले अदालतको फैसलाविरुद्ध बोलेका कारण उनीहरुलाई मानहानीको मुद्दा समेत चलाइएको छ । सलमानका प्रतिद्वन्द्वी मानिने बलिउड नायक शाहरुख खान लगायतले समेत यतिवेला सलमानलाई साथ दिइरहेका छन् ।
– एजेन्सी













