केही महिना अघि विविध कारणले राजेश हमालका साथ अमेरिका भ्रमण गर्न नपाएकी मधु भट्टराईको चाहना बल्ल पूरा हुने भएको छ ।
प्राप्त जानकारी अनुसार आउँदो सोमबार उनी पति राजेश हमालका साथ अमेरिका उड्दैछिन् । गत जेठमा सम्पन्न भएको विवाह पश्चात यो जोडी हनिमुनका लागि अमेरिका उड्ने तयारीमा रहेको थियो तर मधुको भिषा आवेदनका लागि समय ढिला हुँदा हमाल त्यतिबेला एक्लै अमेरिका उडेका थिए ।
यस्तै दोश्रो पटक तिहारको छेकोमा पनि उनीहरु महिना दिनका लागि अमेरिका घुम्ने तयारीमा थिए तर राजेशले खेलिरहेको साउथ ईन्डियन फिल्म बागमतीको सुटिङ समयमा नसकिदा दोश्रो पटक पनि मधुको चाहना अधुरै बनेको थियो ।
अमेरिकामा रहेका राजेश हमालका फष्ट कजन (सानिमाका छोरा – भाई ) सुबु केसीले दिएको जानकारी अनुसार यो जोडीको पहिलो अमेरिका भ्रमण मात्र ९ दिनको हुनेछ ।
सुबुका अनुसार एन.आर.एन अमेरिकाको निमन्त्रणामा उनीहरु आउँन लागेका हुन । एन.आर.एन अमेरिकाको कार्यक्रम २० देखि २२ मार्च सम्म वासिङटन डिसीमा हुनेछ जहाँ राजेश मधुका साथ उपस्थित हुने छन् ।
पत्नीलाई लिएर एनआरएन अमेरिका उड्न लागेका हमाललाई भने एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले मनोमानी गरेर पुरस्कार दिन लागेको आरोप लागेको छ । ‘एनआरएन अवार्ड लुटेरादेखि ठगसम्म सम्मानित हुने’ शीर्षकमा सिधाकुरा डट कमले राजेश हमाल जिसीका नजिकका नातेदार भएको र जिसीकै मनोमानीमा हमाललाई एनआरएन आउटस्ट्याण्डिङ अवार्ड दिन लागिएको आरोप समेत लगाएको छ । स्मरणीय छ नायक राजेश हमाल खगेन्द्र जिसीका साला हुन् । समारोहमा एनआरएनका केन्द्रीय अध्यक्ष शेष घलेलाई समेत अवार्ड दिइँदै छ । त्यसै गरी अमेरिकामा बस्दै आएका कलाकार तथा पत्रकार शैलेश श्रेष्ठलाई समेत अवार्ड दिन लागिएकोमा विरोध गर्दै सो अनलाइनले शैलेशलाई पत्रकारको नाउँमा मानव तस्कर र दलाल भन्ने अरोप लगाएको छ ।
एनआरनको सम्मेलनमा पक्ष विपक्षबीच एकले अर्कोको खेदो खन्दै आआफ्ना पक्षका अनलाइनमा प्रचारप्रसार गर्ने कार्यकै निरन्तरता सिधाकुरा डट कमको पनि हुन सक्छ । यद्यपि यस्तो विवादास्पद तथा भिनाजुकै इच्छाले दिएको अवार्ड लिँदा राजेश हमालको व्यक्तित्वमा नकारात्मक असर नपारोस् ।













