
अभिनेता आर्यन सिग्देलले बैशाखमा पनि आफ्नो तौल घटाउन सक्ने या नसक्ने कुरा गरेपछि अहिले यसका निर्माता र निर्देशक विकल्प खोजीमा दौडिएका छन् ।
आर्यनलाई करिब १० केजी घटाउनुपर्ने भएपछि फिल्म ‘क्लासिक’को छायांकन फागुनबाट बैशाखमा सरेको थियो । आर्यनले बैशाखसम्म पनि तौल घटाउन सक्ने या नसक्ने बताउन नसकेपछि उनको विकल्प खोज्न थालिएको हो ।
निर्माता सुवास गिरी र निर्देशक दिनेश राउत अहिले आर्यनको कुराले केही दोधारमा देखिएका छन् । निर्देशक राउतले एक बर्षसम्म एउटै फिल्मको पछि लाग्दा पनि टुङ्गो नलाग्दा आफूलाई दिक्क लागेको बताएका छन् ।
आर्यनले डाक्टरसँग सल्लाह गरेर ३ दिन भित्र निर्णय दिने बताएका छन् । आर्यनले गर्न नसक्ने बताएको खण्डमा अन्य कोही चल्तीका अभिनेता लिएर काम गर्ने तयारी गरिएको छ । आर्यनले काम नगरेको खण्डमा फिल्ममा नम्रता श्रेष्ठ पनि देखिने छैनन् ।
फिल्म ‘नोभेम्बर रेन’ हिट भएपछि निर्माता सुवास गिरी आर्यनसँग मिलेर ‘क्लासिक’ बनाउने तयारीमा लागेका थिए । तर, घुँडाको अप्रेशन पछि एकाएक मोटाएका आर्यनलाई अहिले तौल बाधक बनेको छ ।
आर्यनलाई उनको तौलको कारणले गर्दा राम्रा र ठूला ब्यानरमा फिल्म छाड्नुपर्ने अवस्था देखिएको छ । बन्न लागेको फिल्म ‘नाईं नभन्नु ल ४’मा पनि आर्यनको तौल बाधक बन्ने देखिएको छ ।













