बानी र स्वभावले को मानिस कति सफल र कति असफल हुन्छ भन्ने कुराको निर्धारण हुन्छ । सामान्यतया सहनशील, मिजासिलो एवम् नम्र स्वभावका व्यक्ति नै सफल र प्रिय हुन्छन् ।
त्यस्ता व्यक्तिहरुलाई नै सबैले मन पराउँछन् । तथापी सबैको बानी एकै नासको भने हुदैन । नेपाली चलचित्रका कलाकारहरुका आनिबानी पनि फरक फरक छन् । जान्नुहोस् नेपाली सिने उद्योगका केही हस्तीहरुका आनीबानी ।
नरम र गरम स्वभावकी दीपाश्री निरौला
विराटनगरको सामान्य परिवारमा जन्मेकी दीपाको कलाकारदेखि निर्देशकसम्मको सफल यात्रालाई पल्टाउने हो भने उनी दुःख बिर्सने सक्ने र सुखमा नमात्तिने स्वभावकी हुन् ।
उनी व्यवहारमा जति नरम छिन् काममा त्यसको सय गुणा बढि कडा छिन् । तीतो सत्यमा होस् या सिनेमाको छायांकनमा उनी कलाकार रिसाउलाकी भनेर चुप लाग्दिनन् । सेटमा सम्झौता भन्ने उनको शब्द नै हुँदैन । कलाकार जुनियर हुन् या सिनियर उमेर र अनुभवलाई हैन अभिनयको लेखाजोखा गर्छिन् । दीपाश्रीको आजसम्मको सफलताको राज यही कडा स्वभाव पनि हो ।
हरेक कामहरु समयमै पूरा गर्नुपर्ने उनको बानी छ । उनी कथा अनुसारको गेटअप लोकेशन र कलाकार छनौटमा सम्झौता गर्दिनन् । नेपाली सिने उद्योगमा मेहनतको अर्को नाम भनेकै दीपाश्री निरौला हो ।
छुच्चो दीपकराज गिरी स्क्रिप्टमा कडा
पछिल्लो समयमा नायक दीपकराज गिरी तीतो सत्यको पर्याय बनेका छन् । पछिल्लो समयमा आयोजना भएका केही अवार्ड कार्यक्रमका बारेमा सामाजिक सञ्जालबाट व्यक्त गरिएका उनका विचार विवादमा आए । प्रसंगहरु विवादमा आएपनि उनी सत्य थिए भन्ने कुरा पुष्टि भयो ।
रेडियो अडियोको एउटा अन्तर्वार्तामा उनले भनेका छन्– म जे देख्छु त्यही बोल्छु । मलाई जे सत्य लाग्छ त्यही भन्छु । सकेसम्म नराम्रो कुरालाई राम्रो भन्दिन । प्रिमियर वा अवार्डमा साथीहरुले बोलाउँछन् । म जे देख्छु र अनुभव गर्छु त्यही भन्छु । त्यसैले आलोचकहरु मलाई छुचो भन्छन् ।
तर म काममा जाती छु । कम्परमाईज गर्दिन । दर्शक र स्रोतालाई ढाँट्दिन । त्यसैले सिर्जनात्मक काममा हारेको पनि छैन । दीपकको अर्को बानी छ, सुटिङमा ढिलो जाने । उनको यो बानी छक्का पञ्जाको सुटिङपछि चर्चामा आएको थियो ।
मुडी रेखा थापाको बेग्लै हिम्मत
केही समयअघि एक अनलाइनलाई अन्तर्वार्ता दिने क्रममा निर्देशक ऋषि लामिछानेले रेखाको बानीबारे भनेका थिए– नेपाली सिने उद्योगकी हिम्मतवाली अभिनेत्रीको रुपमा चिनिएकी रेखाले नायिकाहरुमा पनि चलचित्र बनाउन र चलाउन सक्ने क्षमता हुन्छ भन्ने कुरा पुष्ट्याएकी छिन् ।
धेरैले उनलाई नेपाली सिने उद्योगको पाठशाला पनि भन्ने गरेका छन् । अभिनय, द्वन्द्व र नृत्यमा रेखाबाट धेरै कुराहरु सिक्न सकिन्छ । तर उनको एउटा कमजोरी, उनी अली मुडी अनि सन्की छिन् ।
हँसाउने टाईमिङमा परफेक्ट दयाहाङ राई
दया जति मेहनत अभिनयमा गर्छन् त्यति मेहनत गेटअपमा गर्दैनन् कि भन्ने उनको भद्दा शरीरले देखाउँछ । मन लगाएर काम गर्ने दया कामभन्दा बाहिर एकदमै कम बोल्ने गर्छन् ।
अभिनयमा उनको हँसाउने टाईमिङ निकै परफेक्ट छ । लजालु स्वभावका उनी अरुसँग सजिलै घुलमिल हुँदैनन् । अरुको कुरा सुनेर हाँसिरहने उनी निकै नै मिलनसार छन् । यही बानीले नै दया सफल भएको भनेर ठोकुवा गर्न सकिन्छ ।
सौगात मल्ल स्क्रिप्ट र रिसमा कडा
अभिनेता सौगात पनि सजिलै घुलमिल नहुने अभिनेता हुन् । काममा निकै नै मेहनत गर्ने उनी कम बोल्ने, अध्ययनशील छन् । कम बोल्ने भएपनि उनको रीस भने कडा छ । उनको अचम्मको बानी रिसर्च गर्न बेलाबखतमा सार्वजनिक ठाउँमा मास्क लगाएर पुग्छन् । उनलाई एक्सरसाईज गर्न निकै नै मन पर्छ ।
सबैको मन मुटुमा बसेका उनी अभिनय राम्रो गर्छन् तर कहिल्यै पनि स्क्रिप्ट भन्दा बाहिर जान सक्दैनन् । कम खुल्ने भएका कारण पनि होला, उनका थोरै साथी सर्कल छ । कथा अनुसार आफूलाई ढाल्न सौगातले गरेको मेहनत अरु कलाकारले गरेको भए सिने उद्योग धेरै माथि पुग्ने थियो ।
पाचक जस्तै प्रियंका कार्की
निडर स्वभावकी जिज्ञासु, सहनशील जस्तोसुकै प्रतिक्रियाहरु पनि उनी सजिलै पचाउन सक्छिन् । नायिका प्रियंका कार्कीले सिनेमाको हिरोईन कस्तो हुनुपर्छ भन्ने देखाएकी छिन् ।
उनी एकदमै व्यावसायिक छिन् । उनी आफ्नो यही व्यवसायिक बानीका कारण चर्चित छिन् । उनलाई कुन ठाउँमा, कोसँग कसरी बोल्ने, कसलाई कस्तो व्यवहार गर्ने भन्ने राम्रोसँग थाहा छ । उनी काम गर्दा पनि रमाईरमाई गर्ने मान्छे हुन् ।
एलियन आर्यन सिग्देल, एक्लै बस्ने
एकचित्त भएर काम पूरा गर्ने आर्यनलाई काम सकाईसकेपछि एक्लै बस्न मन लाग्छ । उनी त्यति सजिलै अरुसँग घुलमिल हुँदैनन् ।
उनको पनि साथी सर्कल सानो छ । आर्यनलाई स्वतन्त्रता मन पर्छ । तर उनी परिवार र आफ्ना निकट केही साथीहरुसँग भने पूर्ण रुपमा घुलेका छन् ।
केकी अधिकारी अरुको मन राख्छिन्
नायिका केकी अधिकारीलाई धेरैले मिजासिलो स्वभावकी अभिनेत्री भनेर भन्ने गरेका छन् । उनको बानीको प्रशंसा नगर्ने सायदै कोही होलान् । उनी सबैसँग मिल्ने र अरुको मन राख्ने कुरामा पोख्त छिन् ।
केकी अधिकारी सिने नगरीमा कामका साथै सम्बन्धलाई निरन्तर अघि बढाउने बानीका कारण पनि चर्चित छिन् । धेरैले केकीको नराम्रो बानी नै छैन भन्ने गरेका छन् । केकी अध्ययनशिल पनि छिन् ।
जोशिली शिल्पा पोखरेल
नायिका शिल्पा पोखरेल कुनै पनि कुराको बारेमा जानकारी गराउन झर्काे मान्दिनन् । उनी हरेक कुरा जोश जाँगरका साथ सिक्ने गर्छिन् । अरुले जति सिकाउँदा पनि झर्काे नमान्ने शिल्पाको बानी छ ।
सुटिङमा समयमा पुग्ने उनको अर्काे राम्रो पक्ष हो । नयाँ मान्छेसँग छोटो समयमा घुलमिल हुन नसक्नु शिल्पाको कमजोरी पक्ष हो । उनी अरुसँग छोटो समयमा नै घुलमील हुन सक्दिनन् । नजिकका मित्रहरुसंग मात्र सम्बन्ध राख्नु उनको अर्काे कमजोरी हो ।
थोरैको विश्वास गर्ने निता ढुङगाना
निता राम्रो अभिनय गर्ने नायिकाका साथै राम्रो नाच्ने नायिका पनि हुन । निताको बानी ब्यहोरा पनि सबै राम्रो छ । आफ्नो बारेमा आफैं निर्णय गर्न नसक्ने नायिकामा पर्छिन निता ।
सीमित साथीहरुलाई मात्रै विश्वास गर्छिन् । यही कारण पनि हुनसक्छ उनको सिने यात्रा जति सफल हुनु पर्ने हो त्यति भएको छैन । एउटा चलचित्रमा काम गरिरहँदा अर्काे चलचित्रसंग सम्बन्ध राम्रो बनाउन नसक्नु निताको कमजोरी हो ।
पछुताउने पूजा शर्मा
नायिका पूजा शर्माको एउटा बानी जुन उनी आफैले सेयर गरेकी हुन् । उनी छोटो समयमा नै अरुसँग घुलमिल हुने गर्छिन् । उनी एकदमै खुलेर कुराकानी गर्छिन् । तर जब उनी बोल्छिन् उनलाई आफूले बोलेको कुरामा पछि पछुतो हुने गर्छ ।
उनी आफूलाई पहिला नसोचेर बोल्ने अनि पछि पछुताउने व्यक्तिको रुपमा लिन्छिन् । त्यस्तै उनको अर्को बानी उनी मान्छेलाई छिट्टै विश्वास गर्छिन् । यसलाई उनी आफ्नो नराम्रो बानीका रुपमा लिन्छिन् ।














