३० भदौ, काठमाडौं । स्वास्थ्य समस्याले अभिनयबाटै टाढिएका चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ फेरि अभिनयमा फर्किएका छन् ।
‘डिप्रेसन’का कारण अभिनयमा निश्क्रिय रहेका माग्ने बुढाले फेरि अभिनयलाई निरन्तरता दिँदै एक म्यूजिक भिडियोमा अभिनय गरेका हुन् । उनको आफ्नै स्वर तथा शब्द रहेको ‘मन्त्रीको सालो….’ गीतको म्यूजिक भिडियोको छायाङ्कन धमाधम भइरहेको छ । गीतमा संगीत भने हरि लम्सालले दिएका छन् ।

‘छक्का पञ्जा’ चलचित्रपछि माग्ने बुढाले अभिनय यात्रामा ब्रेक लिएका थिए । ‘स्वास्थ्य कमजोर भएका कारण म दर्शक माझ आउन सकेको थिइनँ,’ उनले भने, ‘अहिले सुधार भइरहेको छ, अब विस्तारै अभिनय यात्रालाई निरन्तरता दिन्छु ।’
माग्ने बुढासहितका कलाकार अभिनित फिल्म ‘छक्का पञ्जा’ अहिले प्रदर्शन भैरहेको छ लोकप्रियता कमाइरहेको छ ।
विल्सनविक्रम राई ‘तक्मे बुढा’ र राज मोक्तानसहितको युरोप यात्रामा निस्कँदा माग्ने बुढाले मन्त्रीको सालो गीत कोरेका थिए । उनले यूरोपमा भएका विभिन्न कार्यक्रममा यो गीत गाएर दर्शक हँसाएका थिए ।













