
टुकनाथ भुसाल
गुरुहरु अभिवादन ज्ञानका पुञ्जलाई ।
सतगुण र विवेकले भरिदियौ लोकलाई ।
सजन सरी तुल्यायौ प्रेमले मूर्खलाई ।
अझ पनि तिमीलाई कत्ति छैन थकाई ।।१।।
दुःख गरिकन ज्ञानी पार्छु बालक् भनेर ।
एक दुई गरी तिनका हात औँला गनेर ।
तरुण वय वितायौ आफ्ना ती केश पकाई ।
अझ पनि तिमीलाई कत्ति छैन थकाई ।।२।।
परिश्रम गरी ज्योति मन्द भो लोचनै को ।
कमी नहुने कदाचित् तिर्सना यो मनैको ।
अझ कति दुःख ग¥छौ उप नेत्रै लगाई ।
तर पनि तिमीलाई कत्ति छैन थकाई ।।३।।
अरु केही गरुँ भन्दै ग्रामका झोज बोकी ।
फकिर सरी निसिदिन् हिंड्दछौ पाऊ ठोकी ।
जस दिई अरुलाई आफूले गाली खाई ।
तर पनि तिमीलाई कत्ति छैन थकाई ।।४।।
तन शिथिल भए नि हृदयै झन कडा छ ।
द्रोण, सुक, सुत, व्यासको प्रतिमूर्ति खडा छ ।
अजर तिमी रहे है ज्ञान धारा बहाई ।
भनिरहून् सब लोक्ले गुरूजी हाई हाई ।।५।।
बर्दिया बहुमुखी क्याम्पस, बर्दिया













