५ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘त्रिमूर्ति सम्मान र शताब्दी पुरुष सत्यमोहन जोशी पदक’ ग्रहण नगर्ने भएका छन् ।
त्रिमूर्ति निकेतनले प्रचण्डलाई ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’द्वारा सम्मानित गर्ने समाचार वुधबार सार्वजनिक भएको थियो । निकेतनको बैठकले प्रचण्डलाई साहित्यमा योगदान गरेको भन्दै सो सम्मान र पदक दिने निर्णय गरेको जनाइएको थियो ।
तर विहीबार अध्यक्ष प्रचण्डको सचिवालयले विज्ञप्ती जारी गरेर ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ प्रचण्डले ग्रहण नगर्ने खुलासा गरेको हो ।
विज्ञप्तिमा भनिएको छ – बुधबार अध्यक्षको सचिवालयलाई जानकारी नै नदिई पार्टीका केही नेताहरुको पहलमा त्रिमूर्ति निकेतनका पदाधिकारीहरुद्वारा अध्यक्ष प्रचण्डलाई भेटी भदौ ३ गते आयोजित सम्मान कार्यक्रममा निमन्त्रणा गरिएको र विभिन्न मीडिया एवं सामाजिक सञ्जालमा अध्यक्षले सम्मान र पदक ग्रहण गर्ने समाचार प्रकाशित भएकोबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
पदक, सम्मान वा कुनै पनि पुरस्कार लिने वा नलिने व्यक्तिको व्यक्तिगत स्वतन्त्रता र अधिकारको कुरा हो । तर, त्रिमूर्ति निकेतनको इतिहास, इतिहासका विभिन्न कालखण्डमा खेलेको राजनीतिक र वर्गीय पक्षधरता एवं सकारात्मक सुझावलाई ध्यान दिँदै प्रचण्डले सम्मान र पदकका लागि आफूलाई छनोट गरिएकोमा निकेतनलाई हार्दिक धन्यवाद दिँदै ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ ग्रहण नगर्ने निर्णय गर्नुभएको व्यहोरा यसै प्रेस नोटमार्फत् जानकारी गरिन्छ ।
पूर्वदरबारिया समूहले ठूला साहित्यकारका नाउँमा पुरस्कार र सम्मान राख्ने गरेको र त्यस्ता पुरस्कार गणतन्त्रवादीलाई फसाउने र अवसरको उपयोग गर्ने माध्यम बनाउने गरेको भनी साहित्यकारहरुले विश्लेषण गर्दै आएका छन् ।
यो पनि पढ्नुहोस् :
दरवारियाहरुले स्थापना गरेको साहित्यिक सम्मान र पदक अब प्रचण्डलाई