२ मंसिर, काठमाडौं । प्रगतिशील लेखक संघ (प्रलेस) का उपाध्यक्ष खेम थपलियासहित तीन जनालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ ।
प्रलेसको मासिक परिसंवाद कार्यक्रमबाट फर्कने क्रममा बागबजारबाट साँझ थपलियालाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । प्रलेसका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डंगोलले विज्ञप्ति जारी गरी विनाकारण लेखकलाई नियन्त्रणमा लिइनु लेखकीय स्वतन्त्रताविपरीत भएको जनाउँदै तिनलाई तत्काल रिहा गर्न माग गरिएको छ । थपलिया ‘हाम्रो जलजला’ मासिकका सम्पादक पनि हुन् ।
थपलियासँगै गिरफ्तार गरिएका साहित्यकार वैरागी जेठा र अच्युत तिवारीलाई दुई घण्टापछि प्रलेसका महासचिव डंगोल र अनेरास्ववियु क्रान्तिकारीका महासचिव उत्तम अधिकारीको रोहवरमा रिहा गरिएको छ ।
प्रगतिशिल लेखक संघले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘कार्यक्रम समापनपछि चिया खाँदै गर्दाको स्थितिमा कार्यालय परिसरबाटै प्रलेस उपाध्यक्ष खेम थपलिया गिरफ्तारीमा पर्नुभएको छ । उहाँसङ्गै गिरफ्तारीमा पर्नुभएका प्रगतिशील स्रष्टा बैरागी जेठा र अच्युत तिवारी टेकु प्रहरी प्रभागबाट रिहा हुनुभएको छ । खेम थपलियाको बारेमा यथार्थ स्थितिको जानकारी लिने हाम्रो प्रयास सफल हुन सकेन ।’