२१ पुस, काठमाडौं । यो वर्ष कक्षा ८ मा परीक्षा दिएका विद्यार्थीले घरमै बसेर परीक्षाफल हेर्न पाउने भएका छन्। महानगरपालिकाका करिब ७ सय सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीले घरमै बसेर परीक्षाफल हेर्न पाउने भएका हुन्।
स्थानीय तहले यो वर्षदेखि आधारभूत तहको कक्षा ८ को परीक्षा सञ्चालन गर्न थालेपछि सो व्यवस्था गर्न लागेको हो। काठमाडौं महानगरपालिका शिक्षा विभागले यो वर्षदेखि अनलाइनबाट परीक्षाफल हेर्ने व्यवस्था गर्न लागेको जनाएको छ। कामपालाई हाइटेक बनाउने योजनाअनुसार ७ सय ४४ वटा स्थानीय निकायमध्ये महानगरपालिकाले पहिलोपटक डिजिटल प्रविधि अपनाएको समाचार नेपालसमाचारपत्रमा प्रकाशित छ ।
कामपाका मेयर विद्यासुन्दर शाक्यले केएमसी डीईपीटी डट अफ ईडीयू वेबसाइट उद्घाटन गरे । काठमाडौंका विद्यालयको सम्पूर्ण विवरण अनलाइनमार्फत हेर्न सकिने बताउँदै मेयर शाक्यले महानगरपालिकाभित्र रहेका विद्यालयको परीक्षामा आईटी प्रविधि प्रयोग गरिएको जानकारी दिए ।
यो वेबसाइटमार्फत विद्यालयको सम्पूर्ण विवरण जानकारी लिन सकिनेछ। यो वर्ष कक्षा ८ को परीक्षालाई लक्षित गरेर वेबसाइटको विकास गरेको जानकारी गराउँदै कामपा शिक्षा विभागका प्रमुख उपसचिव प्रल्हाद अर्यालले नयाँ शैक्षिक सत्रबाट विद्यालयको सम्पूर्ण विवरण अनलाइनमार्फत भर्ने व्यवस्था गरिएको जानकारी दिए।
यसै वर्षबाट चैतमा सञ्चालन गर्ने तयारी भएको कक्षा ८ को परीक्षाको फारम अनलाइनमार्फत भर्नुपर्ने व्यवस्था गरेको छ। शैक्षिक सत्र २०७५ देखि महानगरक्षेत्रका सबै विद्यालयले अनलाइनबाटै विद्यालयको सम्पूर्ण विवरण पेस गर्नुपर्ने व्यवस्था महानगरले गरेको छ।
महानगर क्षेत्रमा करिब १ सयको हाराहारीमा सामुदायिक र करिब ६ सयको हाराहारीमा निजी र गुठीबाट सञ्चालित विद्यालय छन्।
सामुदायिक विद्यालयले विद्यार्थी, शिक्षक र कर्मचारी संख्या, शिक्षकको विवरण, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायत अधिकारीको विवरण, विद्यार्थीको व्यक्तिगत विवरण, विद्यालयको सम्पत्तिलगायतका विषय अनलाइनबाटै भर्नुपर्ने हुन्छ। संस्थागत विद्यालयले विद्यार्थी संख्या, भौतिक विवरण, शिक्षक संख्या विद्यालय व्यवस्थापन समिति गठन भएको मिति र पदाधिकारीहरू, कर प्रणाली, विद्यार्थीको व्यक्तिगत विवरणलगायत विद्यालयसम्बन्धी सम्पूर्ण विवरण अनलाइनमार्फत भर्न पाउने व्यवस्था गरेको छ।
महानगरमा रहेका विद्यालयको संख्या र त्यसको यथार्थ विवरण बारे जानकारी लिन अनलाइन सेवा शुरुआत गरिएको विभाग प्रमुख अर्यालले बताए। उनले भने – ‘हचुवामा रहेका तथ्यांकलाई व्यवस्थित गर्न वेवसाइट उद्घाटन गरेका हौं।’ वेवसाइटबारे जानकारी गराउँदै टीसीपीका प्रमुख डा स्वागत श्रेष्ठले महानगर क्षेत्रभित्रका सामुदायिक र संस्थागत विद्यालयमा आईटीको प्रयोग गर्न वेवसाइट निर्माण गरेको जानकारी दिए।
हाल कामपाको शिक्षा विभागअन्तर्गत ११ स्रोत केन्द्र र ८ जना कर्मचारी कार्यरत छन्।