१० मंसिर, काठमाडौं । चीनको साङ्घाईको दक्षिणी बन्दरगाह सहरमा आइतवार विहानै ठूलो विष्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । रहस्यमय विष्फोटनमा परी ३० जनाभन्दा बढी घाइते भएका छन् । साङ्घाइबाट १ सय किलोमिटरको दूरिमा रहेको निग्बो सहरको पूर्वी तटमा विहानै विष्फोटको आवाजसहित खैरो रङको मुस्लो आकाशमा देखिएको चिनियाँ समाचार संस्थाहरुले जनाएका छन् ।
स्थानीय समयअनुसार बिहान ९ बजे जियाङ्बेई जिल्लास्थित एउटा उद्योगमा विष्फोट भई नजिकका केही भवनहरू समेत भत्किएका थिए।
सरकारी सञ्चारमाध्यम सीसीटीभीले कम्तीमा दुई जनाको मृत्यु र धेरैजना घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएको जानकारी दिएको छ ।
स्थानीय सञ्चारमाध्यमहरूले कम्तीमा ३० जनालाई स्थानीय अस्पतालमा लगिएको र उद्धारकार्य जारी रहेको बताए ।
विष्फोटको कारण पत्ता लगाउनका लागि अनुसन्धान जारी रहेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।














