३ पुस, काठमाडौं। रुसको सेन्ट पिटर्सबर्गस्थित प्रमुख गिर्जाघरमा हुन लागेको आतंककारी आक्रमण अमेरिकी गुप्तचर निकाय सीआईएको सूचनाका आधारमा विफल पारिएको छ ।
गिर्जाघरमा शनिबार गराउन लागिएको आतंककारी विष्फोटका बारेमा सीआईएले रुसी सुरक्षा अधिकारीलाई जानकारी गराएपछि सम्भावित आक्रमण विफल पारिएको समाचारमा जनाइएको छ । सूचनाकै आधारमा रुसी सुरक्षा निकाय एफएसबीले इस्लामिक स्टेट समर्थक समूहका सात जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुबाट विष्फोटक पदार्थ, हतियार र उनीहरुका दस्तावेज बरामद गरिएको रुसी अधिकारीहरुले जनाएका छन् ।
यो समूहले गिर्जाघरमा आत्मघाती हमला गरेर ठूलो संख्यामा नागरिकको हत्या गर्ने योजना बनाएको खुलासा भएको छ ।
यसैबीच रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरी सीआईएले गरेको सहयोगप्रति धन्यवाद दिएका छन् ।
उनले अमेरिकाविरुद्ध हुने आतंककारी आक्रमणबारे रुसले कुनै जानकारी पाएमा समेत जानकारी दिएर सहयोग प्रतिबद्धता व्यक्त गरेका छन् । एजेन्सी