२७ मंसिर, बेइजिङ । दोस्रो विश्वयुद्धमा जापाले चीनको नान्जिङमा ३ लाख चिनियाँहरुको हत्या गरेको स्मरणमा वुधबार राष्ट्रिय दिवस समारोहको आयोजना गरेको छ ।जापानले सन् १९३७ मा पूर्वी चीनको झियाङ्सु प्रदेशमा आक्रमण गरी ३ लाख चिनियाँ नागरिकको हत्या गरेको थियो ।
नान्जिङको मेमोरियल हलमा आयोजित विशाल सभामा चिनियाँ राष्ट्रपति सि जिनफिङ सहभागी थिए । समारोहमा लाखौंको सङ्ख्यामा सैनिक तथा सर्वसाधारण उपस्थित थिए । दिवंगतहरुको चीर शान्तिका लागि शोकमा राष्ट्रपतिसहित आम नागरिकले शिर झुकाएका थिए ।
नान्जिङमा मारिएका नागरिकहरुको स्मृतिमा चीनले वुधबार ८० औं स्मृति दिवसको आयोजना गरेको हो । राष्ट्रपति फिङ उपस्थित कार्यक्रममा दिवंगत नागरिकको सम्मानमा आकर्षक ढंगले तयार पारिएका पुष्पगुच्छा अर्पण गरिएको थियो ।
समारोहमा शान्ति गीत गाइएको थियो भने ठूलो घण्टा बजाएर मृतकहरुको आत्माको शान्तिको कामना गरिएको थियो । शान्तिको कामना गर्दै समारोहमा हजारौं परेवाहरु उडाइएको थियो ।
नान्जिङ हत्याको असी वर्ष पुगेको अवसरमा आयोजित समारोह चिनियाँ टेलिभिजन सिसिटिभीले प्रत्यक्ष प्रसारण गरेको थियो । लाखौं मानिस सहभागी कार्यक्रम भव्य देखिन्थ्यो ।