डा. माधवप्रसाद पाण्डे
बाबु तिम्रो शिक्षा पूर्ण भइहाल्यो अब तिमी आफ्नो घर फर्क ।’’ आचार्य दिव्याङ्गले पाउमा परेका शिष्य चन्द्रधरको मस्तकमा प्रेमपूर्वक हातले सुमसुम्याउँदै भने । चन्द्रधरका आँखा हर्षाश्रुले भरिए ।
चन्द्रधरले भने— ‘‘गुरुदेव मलाई गुरु दक्षिणाको आदेश दिएर कृतार्थ तुल्याउनुहोस् । कृपया मलाई आचार्य ऋृणबाट मुक्ति मिलोस् ।’’
आचार्य दिव्याङ्ग चन्द्रधरको गुरुभक्ति र प्रतिभामा मुग्ध थिए । आचार्यले भावविभोर भएर भने— ‘‘वत्स मैले गुरु दक्षिणा पाइसकेको छु । तिमी प्रसन्न भएर घर फर्क ।’’ चन्द्रधर यो कुरा कसरी मान्न सक्थे ? उनले आग्रह गरे- ‘‘होइन गुरुदेव दक्षिणा नलिई मलाई शान्ति र सन्तोष हुने छैन । दया रहोस् ममाथि ।’’
आचार्य दिव्याङ्ग शिष्य चन्द्रधरको दृढतामा गदगद थिए । आचार्यले भने – ‘‘बाबु म तिम्रो भक्ति र सेवाले अत्यन्त प्रशन्न छु । तिमीले यस विषयमा रत्तीभर पनि सङ्कोच मान्नुपर्दैन ।’’
चन्द्रधरले विनयपूर्वक हात जोड्दै – ‘‘भने होइन गुरुदेव आफ्नो अनुग्रहबाट मलाई वञ्चित नगर्नुहोस् र मलाई केही आज्ञा दिनुहोस् ।’’
चन्द्रधरको पटकपटकको आग्रहबाट आचार्य दिव्याङ्गको मुखमण्डल गम्भीर भयो । निधारमा चिन्ताका रेखाहरू देखिए । उनको मानसपटलमा दक्षिणा सम्बन्धी विचारहरू उठ्न थाले । कुनै साधारण विद्यार्थी भए त्यसलाई जे पनि भन्न सकिने थियो तर आचार्य चन्द्रधरको विद्याबुद्धि अनुसार नै उनीसँग दक्षिणा माग्न चाहन्थे । उनी केही बेर आफूमा नै हराए । त्यस बेला चन्द्रधर तीव्र उत्सुकताका साथ गुरुदेवको मुखमण्डलमा देखा पर्ने र विलीन हुने भाव रेखाहरूको अध्ययन गर्दै थिए ।
अन्तमा आचार्य दिव्याङ्गले आदेश दिए – ‘‘ठीक छ चन्द्रधर तिमीबाट गुरु दक्षिणा लिन्छु । चन्द्रधरले गुरु दिव्याङ्गका चरणहरूमा शीर राख्दै निवेदन गरे – ‘‘कृपा रहोस् गुरुदेव ।’’
आचार्य दिव्याङ्गले गम्भीर वाणीमा भने तिमी मेरो दक्षिणास्वरूप अध्यापन कार्य गर । गुरु दक्षिणाको कुरा सुनेर चन्द्रधर हत्तप्रभ भए । गुरुदेवले आफूलाई उत्तरदायित्वको भारले दबाए जस्तो लाग्यो । वस्तुतः त्यस बेला अध्यापन कार्य आज जस्तो सरल थिएन । अध्यापक बन्नुभन्दा पहिले आफूमा विजय पाउनुपर्थ्यो । सुनझैँ खारिनुपर्थ्यो । गुरुले विद्या र चरित्र दुवै क्षेत्रमा आफ्नो आदर्श स्थापित गर्नुपर्थ्यो । विद्यालाई भन्दा बढी चरित्रलाई प्रधानता दिइन्थ्यो ।
शिक्षाको उद्देश्य बुद्धि विकास मात्र नभएर चरित्र निर्माण थियो । गुरु आफ्ना शिष्यका लागि आमा र बाबु पनि हुन्थे । विद्यार्थी गुरुको आश्रममा रहेर सम्पूर्ण विद्याहरूको अध्ययन गरी स्वावलम्बी बन्दथे । शिक्षा समाप्तिपछि आजका गुरु र शिष्यको सम्बन्ध जस्तै समाप्त हुँदैनथ्यो । गुरुले आफ्ना शिष्यका जीवनका प्रत्येक कार्यका लागि उत्तरदायी हुनुपर्दथ्यो । शिष्यको प्रत्येक भूललाई गुरुले आफ्नै भूल मान्दथे र त्यसका लागि प्रायश्चित्त गर्दथे ।
चन्द्रधरले तुरन्त उत्तर दिन नसक्दा आचार्य दिव्याङ्ग मुसुक्क हाँसे । उनले भने – ‘‘किन बाबु गुरुदक्षिणा तिमीलाई ज्यादै भारी लाग्यो कि कसो ?’’ चन्द्रधर आफ्नो कुण्ठित अवस्थाले गर्दा लज्जित थिए । आफ्नो भाव लुकाउँदै उनले भने – ‘‘होइन गुरुदेव हजुरलाई गुरु दक्षिणा दिनेछु ।’’
आचार्य दिव्याङ्गले आशीर्वाद दिँदै सस्नेह चन्द्रधरको माथ सुम्सुम्याए । चन्द्रधर चरण स्पर्श गरी हिँडे ।
निर्जन वनमा नर्मदा नदीको तीरमा चन्द्रधरले आफ्नो आश्रम खडा गरे । आश्रमको एकातिर तुलसी र केराका बोट लगाएका थिए । अर्कातिर यज्ञकुण्ड निर्माण गरिएको थियो । आश्रमदेखि छुट्टै अलि पर गौशाला र छात्रावास बनाइएका थिए । प्रतिदिन यज्ञजन्य धूवाँले वनको वातावरण मोहक बन्दथ्यो । नर्मदाको स्निग्ध जलको तटमा पिपलको विशाल वृक्ष थियो । त्यसको चारैतिर माटाका वेदीहरू बनाइएका थिए । चन्द्रधर दिनदिनै त्यस वेदीमा बसेर छात्रहरूलाई पढाउने गर्थे । यस प्रकार शनैः शनैः धेरै वर्ष बिते । प्रकाण्ड विद्वान् चन्द्रधरको ख्याति चारैतिर फैलिन लाग्यो ।
एकाविहान चन्द्रधर आफ्ना शिष्यहरूलाई ‘‘एकोऽहं बहु स्याम’’ को पाठ बडो तन्मयताका साथ पढाइरहेका थिए । शिष्यहरू पनि एकाग्रचित्त थिए । त्यसै बेला गाई चराउन गएको एकजना विद्यार्थीले दौडँदै आएर भन्यो – ‘‘गुरुदेव आज श्वेतकेतुले दुई जना बटुवाहरूको हत्या गरी उनीहरूको धन लुट्यो ।’’
विद्यार्थी भयग्रस्त कण्ठले बोलिरहेको थियो । त्यो सूचना पाउँदा चन्द्रधरलाई आफ्नो मुखमा कसैले जोडसित थप्पड हाने जस्तो अनुभव भयो । उनी रन्थनिएर चुप लागे । किनकी श्वेतकेतु आजभन्दा चार वर्ष पहिलेसम्म चन्द्रधरकै छात्र थियो । ऊ जस्तो प्रतिभा सम्पन्न र गुरुभक्त विद्यार्थी उनले कुनै पाएका थिएनन् । चन्द्रधरको श्वेतकेतुप्रति सहज ममता थियो । त्यस छात्रबाट उनले केही आशा गरेका थिए । दुई वर्ष यतादेखि उसैले डाँकाको पेशा (दस्युवृत्ति) लिएको थियो । श्वेतकेतुको अत्याचारको खबर प्रतिदिन पाउन थालियो र त्यसको आतङ्क दिनानुदिन बढ्दै गयो ।
चन्द्रधर उसको दोषलाई आफ्नै दोष मान्थे र मनमनै आफूलाई असफल अध्यापक मान्थे । आजको यो घटना सुनेर उनको मन क्षुब्ध भयो । यद्यपि उनी शिष्यहरूलाई पढाइरहेका थिए, तर उनको मन अन्तै थियो उनी बारम्बार सोचिरहेका थिए— ‘‘के मैले गुरुदेवलाई दिएको दक्षिणा यही हो त ?’’
एक दिन भदौको अँध्यारो रात थियो । आकाश मेघाच्छन्न थियो । प्रतिक्षण बिजुलीको चमकले रात्रिको भयानकता बढाइरहेको थियो । चन्द्रधर आफ्नो कुटीबाट बाहिर निस्केर त्यस मार्गतिर अग्रसर भए जुन मार्गमा श्वेतकेतु डकैती गर्दथ्यो ।
चन्द्रधर निर्भीक भएर अगाडि बढ्दै गए । सहसा कसैले कड्केर सोध्यो – ‘‘को हो ? उनले भने – ‘‘म एक बटुवा हुँ । उनको उत्तरमा निर्भयता थियो ।
‘‘पर्खी । पुनः कर्कश स्वर सुनियो । चन्द्रधर रोकिए । ‘‘तेरा सबै सामान यहीँ राखिदे’’ – डाँकुले भन्यो । चन्द्रधरले नम्र तर निर्भीक स्वरमा भने – ‘‘दस्यु मसँग केही पनि छैन ।’’
दस्यु क्रुद्ध भयो । उसले कोर्रा हान्दै भन्यो – ‘‘पहिले सबै यस्तै निहुँ पार्छन् । दण्ड नदिएसम्म कोही पनि ठेगान लाग्दैन ।’’
चन्द्रधरले दस्युको कोर्रा हनाईमा रत्ती पनि बाधा पुर्याएनन् । उनी आफ्नो ठाउँमा हलचल नगरी अडिरहे । शरीरबाट रगत बग्न थाल्यो । यति हुँदा हुँदै पनि उनी शान्त र प्रशन्न थिए ।
दस्यु उनलाई निरन्तर कोर्रा हानिरहेको थियो । यस बेला बिजुली चम्क्यो । श्वेतकेतुले देख्यो पिटिने कुनै अर्को कोही मानिस नभएर उसैका गुरुदेव श्रीचन्द्रधर आचार्य रहेछन् । गुरुदेवको रक्त रञ्जित शरीरलाई देखेर दस्यु श्वेतकेतु स्तब्ध भयो ।
चन्द्रधरको मुखमण्डलमा गम्भीर शान्ति थियो । चन्द्रधरले हाँस्दै भने – ‘‘किन रोकियौ दस्यु, के तिमी थाक्यौ ?’’
श्वेतकेतुले गुरुका पाउमा परेर रुँदै भन्न थाल्यो – ‘‘गुरुदेव मलाई घोर दण्ड दिनुहोस् मबाट भयङ्कर अपराध भएको छ । मलाई कठोर दण्ड दिनुहोस् ।’’
चन्द्रधरले श्वेतकेतुलाई प्रेमपूर्वक उठाउँदै भने – ‘‘उठ श्वेतकेतु जे भयो त्यो ठीकै भयो । मैले तिम्रो जीवनको अमूल्य समयलाई आफ्नो छात्र बनाएर नष्ट गरिदिएँ । मैले तिम्रो प्रतिभालाई दिशा दिन सकिनँ । यस कारण मैले तिमीप्रति अपराध गरेको छु । मैले अझ अरु दण्ड पाउनुपर्थ्यो ।’’
श्वेतकेतु पश्चात्तापले निरन्तर रोइरहेको थियो । ऊ केही पनि भन्न नसक्ने अवस्थामा थियो ।
चन्द्रधर उसलाई आफ्नो छातीमा टाँँसेर आफैँ पनि रोए । एकातिर पानी बर्सिरहेको थियो । अर्कातिर गुरु र शिष्य आपसमा टाँसिएर रोइरहेका थिए । चन्द्रधर भनिरहेका थिए— ‘‘श्वेतकेतु मेरा शिष्यहरू सुध्रन्छन् भने आफ्ना प्रत्येक शिष्यहरूबाट यसभन्दा पनि धेरै कोर्राको प्रहार सहन म तयार छु ।’’
त्यसै बेला एउटा वृद्ध मानिस त्यहाँ आइपुगे । उनका जटा र दाह्री पानीले भिजेका थिए । उनले टाँसिएर रोइरहेका गुरु र शिष्यलाई छुटाए ।
वृद्ध पुरुषलाई चिन्नासाथ चन्द्रधरले प्रशन्नतापूर्वक चिच्याएर भने – ‘‘गुरुदेव हजुर यहाँँ ?’’ आकस्मिताले चकित थियो चन्द्रधरको स्वर । उनी श्रीगुरुका पाउमा परे । आगन्तुक वृद्ध आचार्य दिव्याङ्ग थिए ।
उनले उठाउँदै भने— ‘‘हो बाबु, म तिम्रो आचार्य दिव्याङ्ग नै हुँ । उठ, संसारमा तिमी जस्तै धेरै अध्यापकको खाँचो छ । मैले आज अपूर्व गुरुदक्षिणा पाएको छु ।’’
त्यसपछि कारणवश वा प्राक्तन संस्कारवश डाँकु बन्न पुगेका श्वेतकेतुको जीवनधारा फेरियो ।















