माघ २६, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम समुदायमाथि विभेद गरेको विषयमा परेको मुद्दामा पुनरावेदन अदालतले ट्रम्पसँग स्पष्टिकरण सोधेको छ । मुस्लिम बहुल सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति ट्रम्पको आदेश मुस्लिमप्रतिको विभेद भएको हो या होइन भन्ने जवाफ अदालतले मागेको हो ।
सात मुस्लिम मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा लगाइएको विषयमा सुनुवाई गर्दै न्यायाधीशले राष्ट्रपतिको कार्यकारी आदेश मुस्लिममाथिको विभेद होरहोइन जवाफ पेस गर्न भनेका हुन् ।
सन फ्रान्सिस्कोस्थित पुनरावेदन अदाललतमा भएको सुनुवाईमा न्यायाधीश रिचार्ड क्लिफ्टनले राष्ट्रपतिको आदेशले विश्वका १५ प्रतिशत मुस्लिम प्रभावित हुने भए त्यो मुस्लिमप्रतिको विभेदमा पर्छरपर्दैन भन्ने जवाफ पेश गर्न भनेका हुन् ।
पक्ष–विपक्षका वकिलले आआफ्ना तर्क पेश गरेका छन् भने पुनरावेदन अदालतले केही दिनमा आफ्नो फैसला दिने जनाएको छ ।
राष्ट्रपति ट्रम्पले इराक, इरान, सिरियासहित मुस्लिम बाहुल्य सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने तथा शरणार्थी कार्यक्रम एक सय २० दिनका लागि बन्द गर्ने कार्यकारी आदेश दिएपछि यो मुद्दा चर्केको छ ।
गत हप्ता वासिङ्टनको सियाटलस्थित संघीय अदालतले राष्ट्रपतिको निर्देशन तत्कालका लागि निलम्बित गर्न आदेश दिएको थियो ।
सियाटल अदालतको फैसलाविरुद्ध पुनरावेदन अदालतमा अपिल परेको हो । पुनरावेदन अदालतले जे फैसला गरे पनि यो मुद्दा फेरि सर्वोच्च अदालत जाने सम्भावना छ ।
धेरै जसो अदालतका न्यायाधीश राष्ट्रपतिको आदेशको विपक्षमा देखिएका छन् । यो अवस्थाले ट्रम्प अप्ठेरोमा पर्ने संकेत देखिएको छ । तर न्याय विभागले भने राष्ट्रपति ट्रम्पको साथ दिएको छ । –एजेन्सी














