२ पुस, काठमाडौं । नेपाली चलचित्रमा चम्किरहेका अभिनेता सौगात मल्ललाई एक अभिनेत्रीले अष्ट्रेलिया लैजाने कसरत गरेकी छिन् । मल्ललाई अष्ट्रेलिया लैजानका लागि अभिनेत्री कमली वाइवाले हेकिोप्टर चार्टर गरेरै मनास्लु बेसक्याम्प पुगेकी छिन् । सौगातलाई अष्ट्रेलिया लैजाने प्रक्रियाका लागि तत्काल भिसा प्रक्रिया अगाडि बढाउनका लागि अभिनेत्री कमलीले हेलिकोप्टर चार्टर गर्न समेत पछि परिनन् ।
शुक्रबार कमलीले मनास्लु बेसक्याम्प नजिकको हिमाली ठाउँ सामागाउँ पुगेर सौगातलाई हेलिकोप्टरमै काठमाडौं लिएर फर्किएकी हुन् ।
‘बमकाजी’ फिल्मको छायाँकन चलिरहेको ठाउँमा ‘शब्द’ चलचित्रकी अभिनेत्री कमली पुगेर काठमाडौं नै लिएर फर्किन् ।
शब्द चलचित्रलाई नेपालसँगै एकसाथ अष्ट्रेलियामा रिलिज गर्न लागिएको तर सौगातको भिसा प्रक्रिया अड्किएकोले कमलीले सौगातलाई लिन हेलिकोप्टर चार्टर गरेर त्यहाँ पुगेकी हुन् ।

‘बमकाजी’ को सेटबाट केहि घण्टाको लागि समय मिलाएर १२ बजे काठमाडौं आएका सौगात त्यसपछि पुन ३ बजे सामागाउँ फर्केका थिए । कमलीले अष्ट्रेलियाको सिड्नी, ब्रिसबेन, मेल्वर्न लगायतका विभिन्न पाँच शहरमा हुने चलचित्रको प्रदर्शनमा सौगात र आफू एकसाथ सहभागी हुनका लागि यो कसरत गर्नुपरेको बताइन् ।
सन्तोष शिवाकोटी निर्देशित फिल्ममा सौगात र कमलीसँगै अनुभव रेग्मी, रोयदिप, ओशिन भट्टराई, ए गुरुङ प्रमुख भूमिकामा छन् । विष्णुकुमार थेबे र छिरिङ लामा चलचित्रका लगानीकर्ता हुन् ।














