बिप्रिन्दु
लेखनाथ चोकबाट माइक्रो बस चढ्दा करिब दिउँसोको चार बज्न लागेको थियो । मेरो मन एक तमासले आत्तिएको थियो, बेलुकीको यात्रा, खराब बाटो अनि अलि विसन्चो शरीरका कारण मन गरुङ्गो भैरहेको थियो । माइक्रो खालीजस्तै थियो । छ/सात जना यात्रु मात्रै थिए त्यसमा । अगाडिपट्टिको सिटमा एक जोडी जेष्ठ नागरिक थिए । पछाडिपट्टिको सिटमा चार र पाँच जना आधुनिक युवाको जमात थिए । कपाल रङग्याएका, कसैको छोटो कपाल, कसैको लामो कपाल । छोटो कपाल ठाडो बनाएका, लामो कपाल बाटेका, च्यातिएको प्यान्ट लगाएका तिनीहरु साँच्चिकै अलिक फरक र अनौठा देखिन्थे । बीचको दुई सिटे स्थानमा एउटी युवती टाउको झ्यालको बाहिरतिर लगाएर बसेकी थिई ।
एक मन त पछाडिको सिटमा गएर बसौं जस्तो लाग्यो । तर, फेरि सोचेँ लामो यात्रा अनि विरामी शरीर अगाडि नै बस्न श्रेयस्कर सम्झेँ युवती बसेको बीचको सिटमा बसेँ । दुवै सिट उसले ओगटेर बसेकी थिई । खाली सिटमा म बसेपछि पनि ऊ त्यसरी नै ढसमस्स भएर बसिरही । मलाई बस्न अप्ठेरो भएकोले उसलाई अलि मिलेर बस्न अनुरोध गरेँ ।
तर, उसले मेरो कुरा सुनेको नसुनेझैँ गरी, कुनै प्रतिक्रिया जनाइन । मलाई अलि रिस उठ्यो, अलि चर्को स्वरमा भने “बहिनी सुन्नुभएन ? मलाई बस्न अप्ठेरो भयो अलि मिलेर बस्नु न” उसले अझै मतिर नहेरी भनी “राम्रोसँग बस्न पछाडि पनि त सिट छ, यहाँ नै किन बस्नु पर्यो ?” भित्रभित्रै रिस उठेको भए पनि मैले शान्तसँग भने “पछाडीभन्दा अगाडिको सिटको यात्रा आरामदायी हुन्छ भनेर नि ।”
उसले असजिलो मान्दै केही पर सरेजस्तो गरी तर पनि सहज रुपमा ठाउँ चाहिँ छाडिन । मैले त्यसैमा मिलेर बस्ने प्रयत्न गरेँ ।
उसको बोली जति रुखो थियो, हेराइ त्यस्तै कर्कस । उसले ठूलाठूला आँखा पारेर मुख बिगारेर मलाई मनमनै केही भनेको भान भयो । तर, के भनेको हो ठम्याउन सकिनँ । मैले पनि केही घण्टाको यात्रा न हो भन्ने सोचेर केही उसको व्यवहारप्रति ध्यान नदिई मिलेर बस्ने कोशिस गरेँ ।
माइक्रो गुड्दै जाँदा त्यसको गति र बाटोका खाल्टाहरुका कारण हल्लँदा केही बेरमै ठाउँ आफै मिल्न आयो । अनि चुपचाप आँखा बन्द गरेर निदाउने कोशिस गरेँ । प्रायः यात्रामा निदाउने मलाई त्यतिबेला मेरो मनमा कुरा खेलिरह्यो निदाउन नै सकिनँ ।
सायद उसले सोची होला : पुरुष जात नै खराब हुन्छन् जानिजानी महिलाको नजिक पर्न खोज्छन् । अनि, मौका हेरी फाइदा लिन्छन, काइदाको सयर गर्छन ।
यस्तै अनेकन सोचले मन भुत्भुताउँदा निद्रा लखेटियो । हुन त यस्ता मान्छेहरु मैले पनि देखेको छु, अनि कति कथा सुनेको पनि छु । तर, व्यक्तिगत रुपमा भन्नु पर्दा मेरा लागि महिला सधैँ सम्मान र मायाका पात्र हुन् । मैले मेरी आमा, श्रीमती र छोरीजतिकै अरुलाई पनि सम्मानजनक नजरले हेर्ने गर्छु । उसले मप्रति गरेको व्यवहार उसको दृष्टिमा जायज थियो होला । मैले एउटी अपरिचित युवतीलाई मेरो नितान्त व्यक्तिगत आचरण र सोचको प्रष्टिकरण दिन आवश्यक पनि थिएन । त्यसैले उसले मप्रति दर्शाएको अमानवीय व्यवहारले मलाई छोएन । त्यो नराम्रो पनि थिएन । राम्रो पनि थिएन । खै के थियो कुन्नी थाहा नै भएन, निक्र्यौल गर्नै सकिनँ ।
माइक्रो बस खैरेनीटार आइपुग्न लाग्दै गर्दा चालकले केही यान्त्रिक गडबडी महसुस गरेछन् । त्यसैले खैरेनीटार पुगेर मर्मत गरेर जाने कुरो अवगत गराए । खैरेनीटार चोकको केही पर परिचालक भाइले मर्मत गर्ने वोर्कसप भेटेपछि करिब आधा घण्टामा मर्मत भईसक्ने कुरा जानकारी गराए । “तपाईहरु धेरै टाढा नजानू है, काम सक्नेवित्तिकै हिड्नुपर्छ” भनी आदेशात्मक पाराले निर्देशन दिए ।
मलाई पिसाब लागिरहेकोले त्यो काम फत्ते गरौं भनेर बाहिर निस्किएँ । सार्वजनिक शौचालय खोज्न थालेँ । तर वरपर कतै भेटिनँ । नजिकै एउटा होटल देखियो होटलमा एक जोडी महिला र पुरुष थिए । सायद होटलका मालिक र मालिक्नी हुनुपर्छ । म उनीहरु नजिकै गएर भनेँ “मलाई निकै पिसाबले च्यापेको छ, तपाईँको होटलको चर्पी प्रयोग गरुँ है ?”
मैले आफ्नो कुरा पूरा नगर्दै महिलाले भनिन्, “यहाँ हाम्रोमा चर्पी बिग्रेको छ, मर्मत गरेको छैन, हामी त अलि माथि घरमा दिसापिसाब गर्छौँ, मिल्दैन ।”
म केही नबोली फर्किएँ एकदुई अरु होटलमा नि सोधूँ जस्तो लागेको थियो तर सोध्न सकिन । सोचेँ अलि पर छेउमा गएर पिसाब फेर्नु पर्ला । अलि तल बाटोको छेउतिर कम घर भएको देखेँ अनि त्यतै लागेँ । छेऊ पुगेपछि त्यहाँको बोर्डमा खुल्ला दिशापिसाबमुक्त शुक्लगण्डकी नगरपालिका लेखेको देखेपछि बाहिर पिसाब फेर्न मनै लागेन अनि लुरुलुरु बजारतिरै फर्किएँ ।
अब मसंग कि सार्वजनिक शौचालय खोज्ने नत्र अर्को कुनै होटल छिर्नेबाहेक अर्को कुनै उपाए रहेन । अलि माथि आएपछि एउटा होटलमा दुई जना जवान केटा देखेँ । अलिकति आश पलायो । लाग्यो युवाले समस्या बुझ्लान नि ? अनि सोधेँ “भाइ मलाई पिसाब गर्न मन लागेको छ, तपाईँको चर्पी प्रयोग गरुँ है ?”
ती भाइहरु सायद त्यस होटलका कामदार हुनुपर्छ । एकअर्कालाई हेरेर केही संकेत गरे जस्तो लाग्यो । त्यसपछि एउटाले भन्यो “त्यतिकै दिँदा त दाइभाउजुले गाली गर्नु हुन्छ । तपार्इँ खाजा खाने भए प्रयोग गर्नुस् ।”
मसँग अरु कुनै उपाए पनि थिएन । “मर्नु भन्दा बौलाउनु निको” भन्ने नेपाली प्रख्यात उखान सम्झेँ । त्यसैले मम अर्डर गरेँ । पिसाब फेरेँ प्राय सार्वजनिक शौचालयमा दुईपाँच रुपियाँ दिएर दिशापिसाब गरेको अनुभव त थियो । तर यस्तो फरक अनुभव जीवनमा पहिलो पटक भयो । पिसाब फेर्न सय रुपियाँ खर्च, साँच्चिकै फरक अनुभव अनि अनुभूति एक हिसावले खुशी नै लाग्यो ।
मम खाइसकेपछि सरासर माइक्रोतिर गएँ । आफ्नो सिटमा बसेँ मिस्त्री अझै मर्मतमा तल्लिन थियो । मेरो छेऊकी युवतीलाई सायद ती युवाहरुले केही भने जस्तो थियो । त्यहाँ भनाभन चलिरहेको थियो, केटाहरु हाँस्दै थिए केटी रिसाई रहेकी थिई । म पुगेपछि भनाभनको क्रम रोकियो । केहीबेरको मौनतापछि युवती मसँग अलि नरम पारामा बोली “कहाँ गएर आउनुभाको ?”
मैले पिसाब फेर्न गएको थिएँ भन्ने जवाफ दिएपछि उसले सोधी “मलाई पनि जानु थियो कता छ शौचालय ?”
“मैले शौचालय त भेटिन, तर एउटा होटलमा जाने भए मिल्छ” भनेँ । “मलाई पनि देखाइ दिनु न है ?” उसले अनुरोध गरी ।
उसले सुरुमा मसँग जेजस्तो व्यवहार गरेको भए पनि मानवीय हिसाबले सहयोग गर्नु राम्रो सोचेर मैले उसको अनुरोधलाई टार्न सकिनँ । उसलाई लिएर होटेलतिर गएँ बाहिर निस्कन लाग्दै गर्दा अगाडिको सिटमा बसेकी आमाले बाबु मलाई पनि एक बोतल पानी ल्याईदिनु न भनेर बिस रुपियाँको नोट दिइन् ।
मैले हुन्छ भन्दै होटल तिर हिडेँ । होटल पुग्ने वित्तिकै मेरो मनमा एउटा जुक्ति आयो । पुग्ने बित्तिकै भनेँ बाबु मलाई चिया खान मन लाग्यो अघि बिर्सेँछु, दुई कप चिया बनाउ न । कामदार भाइ चिया बनाउन व्यस्त भयो । मैले केटीलाई चर्पी देखाई दिएँ । चिया खाइसकेर एक बोतल पानी किनेर हामी दुवैजना माइक्रोतिर गयौँ । माइक्रो मर्मत लगभग पूरा हुन लागेको रैछ । हामी आआफ्नो सिटमा गएर बस्यौँ । घाम डुब्न लागेको थियो मैले मोबाइल बाट डुब्दो घामको केही फोटो लिएँ । माइक्रो खैरेनीटारबाट काठमाडौँको लागि हिँड्यो ।
केहीबेरको मौनतापछि उसले पहिलो पटक नम्र भाषामा मलाई सोधी “काठमाडौँ जान लाग्नु भएको ? “हो” मैले छोटो उत्तर फर्काएँ । “तपाईको घर पोखरा कता हो नि ?” उसले फेरि सोधी ।
“मेरो घर पोखरा होइन, काम विशेषले आएको थिएँ । अहिले काठमाडौँ फर्कन लागेको ।”
“काठमाडौँ कहाँ हो नि ?”
“मेरो खास घर त नवलपरासी हो काठमाडौँको धापासीमा बस्छु” मैले फेरि प्रश्न नआओस् भनी पुरै जवाफ दिएँ । तर अहिले प्रश्नको साटो उसले आफैं उत्तर दिन थाली “म पनि काठमाडौँ नै बस्छु, सानेपामा ।” उसको कुरा काट्दै भनेँ काठमाडौँ होइन होला ललितपुर होला नि, कि होइन ?
मेरो कुरा सुनेर ऊ एकछिन अक्क न बक्क परी अनि समर्थनमा ठाउको हल्लाई “म पाटन अस्पतालमा नर्सको काम गर्छु, भर्खरै बिएनको पढाइ पूरा गरेको” मलाई कुरा नबढोस लागिरहेकोले ए मात्र भनेँ । तर उसले कुरा झन् लामो पार्दै गई “स्टाफ नर्स पूरा गरेको दशवर्षछि फेरि पढेको, निक्कै गाह्रो पो भयो ।”
मैले उसको कुरा ध्यान नदिएको ख्याल नगरी कुरा लम्ब्याउँदै गई ।उसको कुरा नचाहेर पनि सुन्नु नै पर्ने भयो । “फेरि पढ्ने मन फर्कियो, अब फेरि मास्टर पनि पढ्ने सोचिराको छु । कहिलेकहिले त लाग्छ बुढेसकालमा कति पढ्ने ? तर फेरि मन मान्दैन ।”
उसको कुरा सुनेपछि मैले अलि उत्प्रेरित गर्ने पाराले भनेँ “शिक्षा लिन जुनसुकै उमेर, समय, स्थान उपयुक्त हुन्छ, जीवनभर पढेर कहाँ सकिन्छ र ? पढाइ र सिकाइको कुनै सिमा हुँदैन ।”
उसलाई मेरो कुरा चित्त बुझ्यो या बुझेन के भयो केहीबेर चुपचाप सुनिरही्र केहीबेरको मौनतापछि मलाई सोधी “तपाईँ के गर्नुहुन्छ नि ?” “म अध्यापन, अध्ययन र अनुसन्धान गर्छु, पेशाले म अर्थासास्त्री हु ।” मैले कुरो टुंगिने गरेर उत्तर दिएँ ।
धेरै नै बुझेँ जसरी समर्थनमा टाउको हल्लाई । एकटकले मलाई हेरेर फेरि कुरो बढाई “मैले पनि चिनेको एउटा दाइ अर्थशास्त्री हुनुहुन्छ नि ।”
“ए हो ?” मैले को रहेछ बुझ्न चाहेँ । काठमाडौँको फलानो कलेजमा पढाउनुहुन्छ अनि कुन हो एउटा अनुसन्धान गर्ने संस्थासँग आबद्ध हुनुहुन्छ । मलाई अहिले त्यो अफिसको नाम याद भएन, तपाइले चिन्नु भाको छ ?”
एक छिन त अलमल्ल परेँ । के उत्तर दिने सोच्न नै सकिन । मैले चिनेको छु कि छैन ? के भनूँ । अनि विस्तारै “चिन्छु कतिपटक सँगै काम गरेका छौं” भनेँ ।
मैले चिनेको र सँगै काम गरेको भनेपछि उसको आँखामा छुट्टै चमक देखियो । सायद मसँग असुरक्षित महसुस गरिरहेकी उसलाई एकाएक सुरक्षा प्रत्याभूति भयो होला । अनि उसको विश्वासको बल बढ्यो । सायद उसलाई लागेको होला, योव्यक्तिसँग अब म पूर्णरुपमा सुरक्षित र सहज रहनेछु । मलाई मनमनै उसको अनुभूतिलाई सलाम गर्न मन लाग्यो किनकि उसको मप्रतिको दृष्टिकोण परिवर्तन भयो, म अब उसको नजरमा नराम्रोबाट राम्रो व्यक्तिको दर्जामा उक्लेँ ।
त्यसपछि हामीले परिवार, समाज, राजनीति, तथा अन्य धेरै कुरामा बहस गर्र्यौँ । मनकामना केवलकार पुगेपछि सबै केटाहरु झरे । अरु केही तिर्थालु परिवारहरु हाम्रा यात्राका साथी हुन थपिए । मनकामनाबाट चढेका दुई वटा बच्चाले हल्लाखल्ला गरेर यात्रालाइ अझै रमाइलो बनाए । रमाइलो डाँडा काट्दा नकाट्दै उसले अघि केवलकार झरेका केटाहरुले गरेको दुव्यवहारको गुनासो गरी । मलाई पनि तिनै केटाहरु जस्तो सोचेर आफूले गल्ती गरेको भन्दै उसले माफ पाऊँ भन्दा मेरो मन फुरुङ्ग भयो ।
मैले पनि प्रतिक्रिया जनाउने सोचेँ “हेर्नुस् मान्छेको अनुहार, लवाई वा लिङ्ग उसको परिचय होइन । अनुहारभित्रको मान्छे फरक हुन्छ । फेरि यस्ता कुराहरु व्यक्तिको सोचाइमा पनि भर पर्छ । तपाईँ घरमा पनि वुवा, काका, मामा, दाइ, भिनाजु छन् होला ? यदि त्यही रुपमा मलाई सोचेको भए, दाँजेको भए, नराम्रो लाग्ने थिएन । तर, तपाईँले मलाई खराब पुरुषका दुर्गुण सम्झेर त्यही व्यवहार गर्नु भयो । अनि मलाई पनि खराब र आवारा नै देख्नु भो । मेरो मनमा कुनै पनि त्यस्तो पूर्व सोच थिएन । मैले केटीको छेऊमा बस्ने अभिलाशा भन्दा यात्रा सहज होस् भनेर सिट राम्रो खोजेको मात्र हो । तपाईलाई सिटमा देखेपछि मेरो मनमा मेरा दिदी, बहिनी, श्रीमती, छोरी, सालीको अनुहार ताजा भयो अनि मैले मेरा घरका महिलालाई अरुले जस्तो व्यवहार गरुन् भन्ने सोच्छु त्यही व्यवहार तपार्इँलाई गर्ने निधो गरे त्यसैले तपाईप्रति कुनै नकारात्मक सोच आएन । राम र रावण हामीभित्रै छ तपाईँ कसको कुरा सुन्नुहुन्छ त्यही कुरा व्यवहारमा झल्किन्छ । ”
मेरो लामो भाषण उसलाई मन पर्यो या परेन थाहा भएन । अलि धेरै भनँे कि जस्तो पनि लाग्यो । यति कुटनीतिक बदला त लिनु नै पर्ने हो जस्तो पनि लाग्यो । दायाँवायाँ नसोची कुरो पूरा गरेँ ।
यात्राभरि नर्सिङ पेशाप्रतिको गुण र दोष, समाजले नर्सलाई हेर्ने आँखा, नर्सले विरामी र कुरुवालाई गर्ने रुखो व्यवहारको बारेमा बहस चल्यो । दुव तिरका तर्क र वितर्क उठे । हामी वर्षौँदेखिको परिचित जस्तो बन्यौँ । त्यहाँ अध्यापन र अनुसन्धानका विषयमा पनि चर्चा भए । त्यतिकैमा थानकोट आइपुगियो । माइक्रो कलंकी आइपुग्न लाग्यो । उसले फेरि मुख खोली “तपार्इँलाई नराम्रो लाग्दैन भने मोबाइल नम्बर दिन मिल्छ ।” उसको प्रश्नमा “भैहाल्छ नि” मैले सहज उत्तर दिएँ । फोन नम्बर टिप्न लाग्दा माइक्रोको सहचालकले लल कलंकी आयो, झर्नुस, भन्न थाल्यो ।
उसले “तपाईको के नाम रे ?” भन्दै गर्दा मैले पर्स खोलेँ र मेरो भिजिटिङ कार्ड दिएँ कार्ड नहेरिकन नै उसले हातमै भएको आफ्नो पर्स खोलेर कार्डलाई त्यसभित्र राखी । एकछिन मतिर हेरेर “ …..मेरो नम्बर भन्दै थिई ।”
मैले उसको नम्बर लिन चाहिन त्यसैले भने “तपाईँलाई मन लागेको बेला कल गर्नुस् अनि नम्बर थाहा भैहाल्छ नि ।” मेरो भनाइको समर्थनमा उसले टाउको हल्लाई “तपाई कहाँ उत्रनुहुन्छ?” उसको प्रश्नको उत्तरमा मैले भनेँ “धापासी जानुपर्ने हुनाले म नयाँ बसपार्क नै उत्रन्छु । माइक्रोबाट झरेर उसले विदाइको हात हल्लाई मैले पनि हात हल्लाएर विदाइ जनाएँ । माइक्रो नयाँ बसपार्क तिर कुद्यो ।
म केहीवेर मानवीय गुण, सोच, कर्म, आचरण, व्यवहार आदिका बारेमा घोत्लिएँ । अनि मुसुमुसु हासेँ । बसपार्क आयो बाँकी केही यात्रुको साथमा म पनि माइक्रो बसबाट झरेँ अनि अर्को बस समातेर बसुन्धरा चौकीस्थित घरतिर लम्कीएँ ।
आज कक्षा कोठामा अध्यापन गरिरहेको बेला दुई पटक मोबाइल फोन बज्यो । बाहिर निस्केपछि हेरेँ । नचिनेको नम्बर रैछ काम भए फेरि फोन गर्छन् भन्ने सोचेर चमेना गृहतिर लागेँ । खाजा खाँदै गर्दा फोनले म्यासेज आएको संकेत गर्यो । मोबाइल निकालेर म्यासेज पढ्न थालेँ ।
“सरी, मैले तपाईँलाई एक हप्तादेखि फोन गर्ने कोशिस गरिरहेँ तर सक्तै सकिन आत्माग्लानीले के गरुँ कसो गरुँ केही निर्णय गर्न नै सकिनँ । आज बडो हिम्मतसाथ फोन गरेको उठाउनुभएन झन् डर लागेर आयो । मैले तपाईँको कार्ड हेरेपछि बल्ल आफ्नो गल्ती महसुस गरेँ । मैले जसको नाम प्रयोग गरेर सुरक्षित हुन खोजेँ त्यो व्यक्ति तपाईँ नै पो हुनुहुँदो रहेछ । मलाई माफ गर्नुहोला । मेरी एउटी बहिनी जो तपाईको विद्यार्थी थिइन्, उनैले वेलावेलामा कुरा गरिरहने हुनाले, तपार्इँको बारेमा थाहा थियो त्यसको मैले गलत प्रयोग गरेँ । माफ गर्नुहोला । तपाइले मेरो म्यासेजको उत्तर गर्नुभयो भने म प्रत्यक्ष माफ माग्न तपाईँको कलेज या अफिस आउँछु नि प्लिज”
…….
मैले निर्णय नै गर्न सकिनँ । उसको गल्ती हो कि होइन ? मैले उसलाई त्यति नै वेला सत्य कुरा भनेको राम्रो हुन्थ्यो कि नभनेको राम्रो ? उसलाई म्यासेजको रिप्लाई गरुँ कि नगरुँ भन्ने दोधारमा छु । अनिर्णित केही बाटो नपाएर यसै बसिरहेको छु ।
धापासी, काठमाडौँ














