६ कात्तिक, काठमाडौं । पाकिस्तानी कलाकारका कारण प्रदर्शन गर्नै समस्या परेको चलचित्र ’ऐ दिल है मुश्किल’ प्रदर्शनका लागि निर्देशक एवम् निर्माता करण जौहरले महाराष्ट्र सरकार, वलिउडको चलचित्र निर्माताको संगठन र महाराष्ट्र नवनिर्माण सेनालाई गुहारेका छन् ।
करण जौहरद्वारा निर्देशित एवम् ऐश्वर्या राय, रणवीर कपूर र अनुष्का शर्माद्वारा अभिनित चलचित्र प्रदर्शनको समयमा आएर समस्यामा परेको थियो । प्रदर्शनको तयारीमा रहेको चलचित्र नै धरापमा परेपछि जौहरले सरकार र विरोधी पक्षलाई एउटै स्थानमा राखेर कुरा मिलाएका छन् । चलचित्र ’ऐ दिल है मुश्किल’ पाकिस्तानी अभिनेता फयाद खानको विषयलाई लिएर फसेको थियो ।
चलचित्र ’ऐ दिल है मुश्किल’ प्रदर्शन गर्ने बारेको विवाद सुल्झाउन जौहरले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनवीस, महाराष्ट्र नवनिर्माण सेना प्रमुख राज ठाकरे र फिल्म प्रोड्यूसर्स् गिल्डका अध्यक्ष मुकेश भट्टबीच शनिवार संयुक्त छलफल गरेका छन् । छलफलपछि सबै विवाद समाप्त भएको जानकारी निर्माता जौहरले दिएका छन् ।
२८ अक्टोबरमा प्रदर्शनका लागि पूर्वनिर्धारित ’ऐ दिल है मुश्किल’ अब सोही मितिमै रिलिज हुने भएको हो । चलचित्र सुरु हुनुभन्दा पहिले उडीमा मारिएका सैनिकहरुप्रति श्रद्धाञ्जलिको दृश्य थप्ने सहमति भएको छ । यसका साथै उडीमा सहिद बन्नेहरुको योगदानको सम्मान गर्दै सैनिक कल्याण कोषका लागि चलचित्रले सहयोग रकम दिने आश्वासन दिएको छ । चलचित्रले व्यापार गरे पनि र नगरे पनि अनिवार्य रुपले कोषका लागि आफूहरुले रकम दिने प्रतिबद्धता निर्माण पक्षले गरेको छ ।
शनिबार भएको बैठकपछि मुकेश भट्टले बैठकपछि संचारकर्मीहरुसँग बैठक सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । वलिउड चलचित्रकर्मीको भावनाबारे आफूले बैठकमा बताएको उनले उल्लेख गरे ।
बैठकमा सहभागी महाराष्ट्र नवनिर्माण सेना प्रमुख राज ठाकरेले आगामी दिनमा पाकिस्तानी कलाकारलाई चलचित्रमा स्थान नदिने शर्तमा निर्माण भैसकेका चलचित्र देखाउन दिने विषयमा आफूहरु सहमत भएको प्रतिक्रिया दिए । तर त्यसका लागि निर्माताहरुले आगामी दिनमा पाकिस्तानीलाई चलचित्रमा सहभागी नगराउने लिखित प्रतिबद्धता जनाउनुपर्ने शर्त ठाकरेले राखेका छन् ।
‘ऐ दिल है मुश्किल’ माथि महाराष्ट्र नवनिर्माण सेनाले विरोध जनाउँदै आएको छ ।
मुम्बइको एक थिएटरमा यस चलचित्रको स्क्रिनिङ्माथि एमएनएसका कार्यकर्ताहरुले हंगामा गरेका थिए । हंगामाका कारण एमएनएसका १२ जना कार्यकर्तालाई न्यायिक हिरासतमा राखिएको थियो ।
भारतीय चलचित्रमाथि पाकिस्तानले प्रतिबन्ध लगाएको अवस्थामा भारतीय चलचित्रकर्मीले किन पाकिस्तानी कलाकारलाई रातो कार्पेट ओछ्याइरहेका छन् भनी महाराष्ट्र सेना प्रमुख ठाकरेले प्रश्न गरे । पाकिस्तानी कलाकारलाई अभिनय गराउने चाहे शाहरुख खान होऊन् या करण जौहर उनीहरुले प्रायश्चित गर्नुपर्ने शर्त ठाकरेको छ ।
चलचित्र सुरु हुनुपहिले उडीका सहिदलाई श्रद्धाञ्जलि दिनका लागि एउटा प्लेट बनाउन आफहरुले माग गर्दै आएको समेत ठाकरेले उल्लेख गरे ।
वलीवुडका कयौं सिनेमा एसोसिएशनमध्येको एक ’सिनेमा ओनर्स एण्ड एक्जिविटर्स एसोसिएशन अफ इण्डियाले पाकिस्तानी कलाकारको चलचित्र आफ्ना चलचित्र घरमा नदेखाउने घोषणा गरेको थियो ।
चलचित्र ’ऐ दिल है मुश्किल’ मा ऐश्वर्या राय बच्चन, रणवीर कपूर, अनुष्का शर्माका साथ पाकिस्तानी अभिनेता फयाद खान समेत रहेका छन् ।
















