२ कात्तिक, काठमाडौं । आगामी पुसको अन्तिम साता नेपालमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना हुने भएको छ । अखिल नेपाल चलचित्रकर्मी संघले धरानमा आयोजना गर्ने चलचित्र महोत्सवलाई इन्टरनेशनल फिल्म फेस्टिभल अफ नेपाल (आईफोन) नाम दिइएको छ । संघले पहिलो पटक गर्न लागेको महोत्सवमा विश्वभरका चलचित्र सहभागी हुने छन् । पुस २७ गतेदेखि माघ २ गतेसम्म चल्ने पाँच दिने महोत्वसमा प्रतियोगी र अप्रतियोगी दुवै चलचित्रको प्रदर्शन गरिनुका साथै चलचित्र कार्यशाला समेत संचालन गरिने जानकारी संघका अध्यक्ष केपी पाठकले दिएका छन् ।
चलचित्र महोत्सका लागि संघले आवेदनको आह्वान समेत गरेको छ । महोत्सवको वेभसाइट http://www.iffon.com.np/submit-film/ मा गएर सहभागी हुने चलचित्रका लागि आवेदन दिन सकिने छ । २०७३ मंसिर १० गतेसम्म निःशूल्क आवेदन दिन सकिने संघले जनाएको छ ।
महोत्सवमा कथानक चलचित्र, लघु चलचित्र र वृत्तचित्र सहभागी हुन सक्नेछन् । तर, कथानक चलचित्रको अवधि कम्तीमा ९० मिनेट, वृत्तचित्रको अवधि कम्तीमा ६० मिनेट र लघु चलचित्रको अवधि कम्तीमा ३० मिनेटको हुनुपर्ने छ । विषयवस्तुका हिसाबले सांस्कृतिक, सामाजिक तथा विश्व तापमानमा परेको असर लगायतका विषयमा केन्द्रित चलचित्र हुनुपर्ने नियम महोत्सव आयोजकले तोकेको छ ।
चलचित्रको प्रारम्भिक चयनका लागि पाँच व्यक्ति सम्मिलित समिति गठन गरिएको र महोत्सवका लागि चयन भएका चलचित्रमध्ये उत्कृष्ट मूल्यांकन गर्नका लागि ३ सदस्यीय निर्णायक समिति बनाउने घोषणा चलचित्रकर्मी संघले गरेको छ ।
सर्वोत्कृष्ट चलचित्रलाई १ लाख रुपैयाँ राशीको ‘गौतम बुद्ध फिल्म अवार्ड’ दिइने छ । त्यस्तै द्वितीय हुनेलाई ५० हजार रुपैयाँ राशीको ‘सगरमाथा फिल्म अवार्ड’ र तृतीय हुनेलाई ३० हजार राशीको ‘रारा फिल्म अवार्ड’ प्रदान गरिने छ । निर्णायक समिति छिट्टै सार्वजनिक गर्ने जनाउँदै संघले निर्णायक समितिका सदस्यले गोप्य मतदान गर्ने जानकारी दिएको छ ।
नेपाली चलचित्रको इतिहासमा आफ्नो मौलिकता खोजी गर्ने र प्रगतिशिल चलचित्रको उत्थान गर्ने उद्देश्यले पहिलोपटक नेपालमा यस्तो महोत्सव गर्न लागिएको संघका अध्यक्ष पाठकले दिए । यस वर्षदेखि महोत्सव हरेक वर्ष गरिने समेत उनले बताए ।















