चर्चित गायिका मिलन अमात्यको एकल गायन रहेको ‘सुशान्तको स्मृति’ गीति संग्रहको शनिबार कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच बरिष्ठ गीतकार तथा कवि रत्न शमशेर थापाको हातबाट बिमोचन गरिएको छ । त्यसो त एउटा संयोग नै भन्नुपर्छ स्वरमा जस्तै संगीत र शब्द पनि यस एल्बममा एकल नै रहेको छ ।
एलबम लञ्च
मनराजा नकर्मीको एकल संगीतमा कादम्बरी दाना श्रेष्ठको शब्द सिर्जना भित्र मिलनले आफ्नो जादुमय गायकी प्रस्तुत गरेकी छिन् । समारोहमा बोल्दै उनले शब्द रुपी भावलाई संगीत भरी आफ्नो आवाज भर्ने सुनौलो अवसर दिएकोमा धन्यवाद ज्ञापन गरिन् । मिलनले अतिथि तथा सञ्चारकर्मीको माझ एल्बमको एक गीत लाइभ प्रस्तुत गरेकी थिइन् । यता कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गीतकार रत्न शमशेर थापाले गीत भनेको विरह बोल्ने खालको हुनुपर्ने चर्चा गर्दै यस गीति संग्रहमा त्यो प्रकारको भावना समावेश भएको र यसले श्रोताको मन जित्न सक्ने आंकलन गरे ।

यस्तै कार्यक्रममा उपस्थित बरिष्ठ संगीतकार दिपक जंगमले एल्बममा समावेश कुनै गीतलाई किटानका साथ राम्रो वा नराम्रो पनि टिप्पणी गर्न नमिल्ने तर्क गरे । उनले स्रष्टा र सर्जकले हरेक गीतलाई उतिकै मिहेनत गर्ने गरेको प्रसंग जोड्दै कलाकारलाई राष्ट्रिय स्तरबाट हेरिनु पर्ने भनाइ राखे । ‘सुशान्तको स्मृति’मा मनछुने ५ गीत समावेश छन् ।
यस गीति संग्रह को भिडियो निर्देशन, चर्चित भिडियो निर्देशक बिशाल भण्डारीले गरेका छन भने क्यामेरामा अर्जुन तिवारी र सम्पादन निशान घिमिरेको रहेका छ । उक्त भिडियो मा अशिशमा नकर्मी र विनोद न्यौपाने ले भूमिका निर्वाह गरेका छन् ।














