नवीन रायमाझी /अमेरिका
सन् २०२० डिसेम्बर २० तारिखमा हालसम्मको सबैभन्दा लामो हलिउड सिनेमा ‘एम्बियन्स’ प्रदर्शन हुँदैछ । अचम्मको कुरा के छ भने यो सिनेमाको ट्रेलर मात्रै ७ घण्टा २० मिनेट को छ र यो सिनेमा ७ सय २० घण्टा अवधिको छ । ७ सय २० घण्टा अर्थात् पूरा एक महिनासम्म लगातार यो सिनेमा प्रदर्शन हुनेछ ।
दक्षिणी स्विडेनको समुन्द्री किनारमा भेट भएका दुइ कलाकारको सम्बन्धको कथामा बनेको यो सिनेमा ‘सिंगल सट’ मा बनेको हो अर्थात् यो सिनेमामा एउटा पनि कट हुने छैन । जानिफकारहरुका अनुसार यो निकै कठिन काम हो । किनभने, चलचित्र छायांकन गर्दा एकपल्ट क्यामेरा अन गरेपछि क्यामेर अफ नगर्दासम्मको छायांकनलाई एक सट भनिन्छ । तर ७२० घण्टा लामो सिनेमा सिङ्गल सट अर्थात एक सटमा छायांकन गर्न कसरी सम्भव भयो यो चाहिँ रहस्यमय छ । या यसमा कुनै नयाँ प्रविधि प्रयोग गरिँदै पो छ कि भन्ने कुरा पनि अहिले खुलाइएको छैन ।
यो सिनेमाको पहिलो टिजर ७२ मिनेटको थियो जो सन् २०१४ मा प्रदर्शन भएको थियो । यो सिनेमाको पहिलो ट्रेलर यसै वर्षको अप्रिल १९ तारिख प्रदर्शनमा आएको थियो जसको लम्बाई ७ घण्टा २० मिनेटको थियो । सन् २०१८ मा यो सिनेमाको दोश्रो ट्रेलर प्रदर्शन हुनेछ, जसको लम्बाई ७२ घन्टाको हुनेछ साथै यो सिनेमाको तेश्रो ट्रेलर सन् २०२० को सुरुतिरै आउनेछ र यसको लम्बाई कति हुने हो त्यो खुलाइएको छैन ।
स्विडेनका चर्चित सिनेमा निर्देशक एण्ड्रेस वेबर्गको निर्देशनमा निर्माण भैरहेको यो सिनेमाका प्रमुख कलाकारमा निकलास हल्बर्ग र स्टिना पेर्सडोटर छन् ।















