१६ असार, काठमाडौं । चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्ने राष्ट्रिय चलचित्र पुरस्कार यो पटक अभिनेता दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठलाई प्रदान गरिने भएको छ । दयाहाङ राई पछिल्लो समयका चलचित्रका चर्चित अभिनेता हुन् भने यद्यपि उनले राष्ट्रिय पुरस्कार पाउनुमा बोर्डका अध्यक्ष राजकुमार राईको प्रमुख हात रहेको बताइन्छ ।
एक गायकसँगको यौन भिडियो काण्डले वद्नाम बनेकी नम्रता श्रेष्ठ त्यो काण्डपछि केही समय गुमनाम थिइन् । बलिउडमा भएको सन्नी लियोनको आगमनपछि नम्रता विस्तारै नेपाली चलचित्रमा फेरि देखिन थालेकी नायिका हुन् । उनले अभिनय गरेको कुनै चलचित्रले पनि चर्चाको शिखर छोएको छैन । उनले के कारण राष्ट्रिय पुरस्कार पाइन् भन्ने कुरा रहस्यमय बनेको छ ।
चलचित्र कबड्डी कबड्डीबाट दयाहाङ राई उत्कृष्ट अभिनेता बन्न सफल भएका छन् । त्यसैगरी चलचित्र क्लासिकबाट नम्रता श्रेष्ठ उत्कृष्ट अभिनेत्री भएको बताइएको छ ।
त्यस्तै बोर्डको स्थापना दिवसका अवसरमा प्रदान गरिने पुरस्कारका सात विधामा उत्कृष्ट चलचित्रकर्मीको नाम पनि सार्वजनिक गरिएको हो ।
चलचित्र विकास बोर्डमा गरिएको स्थापना दिवस विशेष कार्यक्रममा बोर्डका अध्यक्षराजकुमार राईले जुरीबाट छनोट ७ विधाका विजेतासँगै एउटा आदिवासी चलचित्र र जुरीका तर्फबाट दिइने विशेष पुरस्कारका विजेताको नाम सार्वजनिक गरे ।
वर्ष २०७२ मा प्रदर्शित चलचित्रहरुमध्ये उत्कृष्ट चलचित्र ‘पशुपतिप्रसाद’लाई मानिएको छ । यही चलचित्रबाट लेखनमा खगेन्द्र लामिछाने उत्कृष्ट ठहरिए । त्यसैगरी यही चलचित्रबाट दिपेन्द्र के खनाल उत्कृष्ट निर्देशक बन्न सफल भए ।
त्यसैगरी छायाँकनमा ‘ड्रिम्स’ का सञ्जय लामा र पुरुषोत्तम प्रधानले संयुक्तरुपमा पाउने भएका छन् । । त्यसैगरी चलचित्र ‘क्लासिक’ बाट सुरेन्द्र पौडेल सम्पादनमा उत्कृष्ट ठहरिए ।
आदिवासी जनजाति चलचित्रतर्फ गुरुङ भाषाको ‘यम्फु देवराली’ उत्कृष्ट ठरहिँदा जुरीबाट दिइने विशेष पुरस्कार नव निर्देशककारुपमा भुवन केसीले हात पारे ।
यसैबीच लाईफटाईम एचिभमेन्ट पुरस्कार नेपालमा बनेको पहिलो चलचित्र आमाकी अभिनेत्री बसुन्धरा भुसाललाई दिइने भएको छ । भुसाललाई ३ लाख ५१ हजार र सम्मान पत्र दिइने छ ।
यी पुरस्कार साँझ राष्ट्रपति भवनमा हुने विशेष कार्यक्रममा राष्ट्रपति विधादेवी भण्डारीले प्रदान गर्ने कार्यक्रम छ ।














