८ असार, काठमाडौं । प्रधानमन्त्री ओलीले चलचित्रकर्मीलाई अवार्ड प्रदान गर्ने भएका छन् । नेपाल चलचित्र कलाकार संघले यही असार १८ गते आयोजना गर्ने चलचित्र अवार्ड समारोहमा सहभागी भएर ओलीले अवार्ड प्रदान गर्ने भएका हुन् । चलचित्रकर्मीहरुलाई आज आफ्नो सरकारी निवास वालुवाटारमा भेटेर ओलीले अवार्ड कार्यक्रममा सहभागी हुने प्रतिबद्धता व्यक्त गरे । ‘प्रधानमन्त्री ओलीले प्रमुख कार्यक्रममा प्रमुख आतिथ्यका लागि समय दिनुभयो’ नायिका झरना थापाले नेपालदेशडटकमलाई बताइन् । ‘प्रधानमन्त्री ओली हाँसोठट्टा गर्ने स्वभावको हुनुहुँदो रहेछ’ उनले थपिन् । हास्य कलाकार जितु नेपालको हस्यौलीमा प्रधानमन्त्रीले झन् हस्यौली थपेको समेत उनले बताइन् ।
प्रधानमन्त्रीलाई अवार्ड कार्यक्रममा प्रमुख अतिथिका रुपमा निमन्त्रणा दिन संचारमन्त्रीसहित कलाकार संघका अध्यक्ष रामकृष्ण बोगटीको नेतृत्वमा कलाकारहरु वालुवाटार पुगेका थिए । टोलीमा चलचित्रकर्मीहरु नीर शाह, कृष्ण मल्ल, झरना थापा,मेलिना मानन्धर, जितु नेपाललगायत सहभागी थिए ।

कलाकार संघले पहिलोपल्ट गर्न लागेको अवार्ड समारोहमा २१ विधामा अवार्ड प्रदान गरिने भएको छ । जसमा २० वटा विधा र एउटा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ हुनेछ ।
एक जना चलचित्रकर्मीलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गर्ने योजना कलाकार संघको रहेको छ ।
अवार्ड समारोह काठमाण्डौंको आर्मी अफिसर्स क्लबमा हुने छ ।















