खेमराज पोखरेल
मैले आमा बाबुले भनेको मानिन । अर्को जात बिहे गरेँ । ‘घर’बिहीन भएँ ।
०००००
हामी दुई जोई पोइको मिल्ती देखेर सासू ससुराले भनेको सुनेः ‘हाम्री सानी भाग्यमानी रहिछे राम्रो ‘घर’ पर्यो’ ।
०००००
डेरामा थियौँ । सानी मेरो अँगालोमा थिइन् । दुई सन्तान थिए । हाम्रो तौलिया एउटै थियो । नुहाउने साबुन एउटै थियो । टुथ पेस्ट एउटै थियो । खाजा, खाना एउटै थियो । संसार एउटै थियो । मान्छे हामीलाई भन्थेः ‘कस्तो राम्रो ‘घर’ परिवार’
०००००
सहरमा बडो मुस्किलले एउटा सानो पुरानो ‘घर’ किनियो । घरमा कुरा भयोः ‘घर साह्रै होचो भयो । छिमेकीले छेले’ । ऋण गरियो । अर्को ठूलो ‘घर’ बनाइयो । मान्छे भन्नथालेः ‘अहा सुब्बा साहेबको ‘घर’
०००००
कोठा अलग अलग भए । तौलिया अलग भयो । साबुन अलग भयो । खाजा अलग भयो । सँगै खान छोडियो । आफ्नै घरमा हाम्रो भेट भएन । मलाई ‘तिमी’ भनिरहेकी सानी ‘सियोस्’ भन्न थालिन् । उनलाई ‘तँ’ भन्ने म ‘तिमी’ भन्न थालेँ । हामी ‘सभ्य’ भयौँ ।
०००००
हाम्रो कुरो मिलेन । साना साना कुरा झिकेर हामी झगडिन थाल्यौँ । उनले मलाई छोडिन् । मैले उनलाई छोडेँ । अदालतले ठूलो घर उनलाई दियो । म पुरानो घरमा । छोरा छोरीको मनोवैज्ञानिक बिचल्नी भयो । मान्छे भन्न थालेः ‘सुब्बा साहेबको ‘घर’ भाँडियो’ । सासू ससुराले पनि भने अरेः ‘सानीले ‘घर’ खाइन’ ।
०००००
मेरो घर उजाडियो । मैले बनाएको चार तले घर मलाई नै हेरिरहेको थियो । मेरो सानो घरको छतबाट ठूलो घरको झ्यालको पर्दाभित्र सानीलाई देखेँ । उनी पनि रोएजस्तो लाग्यो । उनको पनि ‘घर’ भाँडियो । मेरा आमा बुवा भन्न थाल्नु भएको छः ‘अब ‘घर’ जोर्नु पर्छ’ । म सोच्दैछुः ‘के सानूले जोर्लिन ?’ । सहरका लठिबज्र अग्ला ‘घर’हरूलाई हेरिरहेको छु ।
‘के यी ‘घर’हरू हुन् ?’














