२६ माघ, काठमाडौं । प्रत्यक्ष नाटक देखाइरहेको क्रममा दुर्घटनावस झुण्डिएपछि कोमामा रहेका एक इटालियन कलाकारलाई अस्पतालले ‘क्लिनिकल्ली’ मृत घोषित गरेको छ। २७ वर्षीय राफायल सुमाकर इटालीको पिसामा रहेको टिएट्रो थिएटरमा नाटक प्रदर्शन गर्ने क्रममा झुण्डिएका थिए । गत शनिबार भएको घटनापछि उनलाई अस्पताल पुर्याए पनि उनी त्यही दिनदेखि कोमा थिए । डाक्टरहरुका अनुसार उनको स्थिति दिनानु बिग्रिएको र उनको शरीरले उपचारमा प्रतिक्रिया जनाउन छाडिसकेको छ । उनलाई ‘ब्रेन डेड’ घोषणा गरिएको छ । नाटककै क्रममा उनी झुण्डिए पनि धेरै बेर अन्य कलाकारहरुले थाहा पाएनन् । दर्शकमा रहेका एक मेडिकल विद्यार्थीले उनी झुण्डिएको पत्ता लगाएको बताइएको छ ।
दुर्घटनावस उक्त घटना भएको बताइए पनि थिएटरको सुरक्षामा लापरवाही भएको विषयमा अनुसन्धान भइरहेको बिबिसीले जनाएको छ । उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरेपनि सुमाकरकी आमाले भने उक्त दावी अस्विकार गरेकी छिन् । थिएटरका आर्ट डाइरेक्टरले डेलीमेलसँग कुरा गर्दै भनेका छन्, ‘हामी स्तब्ध छौं । यो घटना कसरी भयो भन्ने बारेमा हामी आफैं अन्यौलमा छौं । प्रहरी अनुसन्धानपछि सबै कुरा खुल्ने छ ।’














