२७ भदौ, काठमाडौं । ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१’मा आर्यन सिग्देल सर्वोत्कृष्ट अभिनेता तथा प्रियंका कार्की सर्वोत्कृष्ट अभिनेत्री घोषित भएका छन् । शनिबार साँझ काठमाडौंमा आयोजित समारोहमा आर्यन र प्रियंकालाई गत वर्षका सर्वोत्कृष्ट नायक नायिका घोषणा गरिएको हो । सर्वोत्कृष्ट चलचित्रको पुरस्कार ‘कबड्डी’ले जित्दा त्यसका निर्देशक रामबाबु गुरुङ सर्वोत्कृष्ट निर्देशक भए ।
सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, भारतीय गायिका सञ्जीवनी लगायतले सर्वोत्कृष्टहरुलाई पुरस्कार प्रदान गरेका थिए । नेपाल
चलचित्र विकास कम्पनी एनएफडीसीको आयोजनामा भएको कार्यक्रममा सर्वोत्कृष्ट सहअभिनेताको पुरस्कार अनुपविक्रम शाही र सहअभिनेत्रीको छुल्ठिम डोल्मा गुरुङले हात पारे । नव अभिनेता पुरस्कार सञ्जोग कोइराला र नव अभिनेत्री पुरस्कार आश्मा डिसीले प्राप्त गरे । यस्तै सर्वोत्कृष्ट लेखनमा छेतेन गुरुङ, छायाँकारमा शैलेन्द्रध्वज कार्की, सम्पादकमा सुरेन्द्र पौडेल, द्वन्द्व निर्देशकमा राजकुमार उप्रेती, सङ्गीतकारमा ताराप्रकाश लिम्बु, पाश्र्वगायनमा युवराज चौलागाईँ, नृत्य निर्देशकमा कविराज गहतराज र पाश्र्व सङ्गीतमा रामजी लामिछाने सर्वोत्कृष्ट भए । सर्वोत्कृष्ट ध्वनि पुनःमुद्रणमा उत्तम न्यौपाने, सर्वोत्कृष्ट व्यावसायिक चलचित्रमा कोहिनूर, चलचित्र पत्रकारितामा विजयरत्न तुलाधरले सर्वोत्कृष्ट पुरस्कार जित्दा जुरी राष्ट्रिय चलचित्र पुरस्कारबाट सुदीपभुपाल सिंहलाई सम्मानित गरियो ।
प्रत्येक सर्वोत्कृष्टलाई ‘अवार्ड’सँगै जनही ५१ हजार नगद पुरस्कारबाट सम्मानित गरियो । एनएफडीसीले आफूले प्रदान गर्ने हरेक विधाका पुरस्कारका नाम नेपाली चलचित्र क्षेत्रका लामो समयसम्म योगदान पुर्याएका फरक फरक व्यक्तिको नामबाट राखेको छ ।
कार्यक्रममा भारतीय गायिका सञ्जीवनीले नेपाली गीत गाएर स्रोता दर्शकको मन जितेकी थिइन् । नेपाली कलाकारहरुले समेत विभिन्न प्रस्तुति दिएका थिए ।














