१९ असार, केन्या । अमेरिकी राष्ट्रपति बराक ओबामाले यसै महिनाको अन्त्यतिर आफ्ना बाबुको मुलुक पूर्वी अफ्रिकी राष्ट्र केन्याको भ्रमण गर्दा उनकी हजुरआमा मामा सराहले नाती ओवामाका लागि खाना पकाउने दृढता व्यक्त गरेकी छिन् ।
मामा सराहले अमेरिकी राष्ट्रपति आफ्ना नाति ओबामाले केन्या भ्रमणमा आफूले परम्परागत खाना पकाउने बताइन्। उनले नैरोबीको भ्रमणमा रहेका एक अनुवादकलाई लुओ भाषामा उक्त कुरा बताएकी छिन् ।
उनले आफ्ना नातिका लागि माछा, कुखुरा तथा मकैका परिकार तयार बताइन् ।
मामा सराह अमेरिकी राष्ट्रपति ओबामाका पितातर्फका हजुरबुबा हुसेन ओन्याङ्गो ओबामाका तेस्री पत्नी हुन् ।
यो राष्ट्रपति ओबामाको अफ्रिकी महादेशको चौँथो भ्रमण भए पनि उनी सन् २००९ मा राष्ट्रपति भएपछि पहिलोपटक केन्या जाँदैछन् ।
केन्याको भ्रमणपछि राष्ट्रपति ओबामा छिमेकी इथियोपिया जानेछन् । राष्ट्रपति ओबामा यसरी इथियोपिया भ्रमण गर्ने पहिलो राष्ट्रपति बन्नेछन् । इथियोपियाको राजधानी अदिस अबाबामा ५४ सदस्ययुक्त अफ्रिकी युनियनको मुख्यालय रहेको छ ।













