७ असार, काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघले दशैँ र तिहारको बीचमा कतारमा आयोजना गर्न लागेको आठौ नेफ्टा एवार्डको शुभारम्भ गरेको छ । संघले हालै राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गर्दै केक काटेर एवार्डको उद्घाटन गरेको हो । नेफ्टाको आठौं सस्करणमा यसपटक ७५ वटा नेपाली चलचित्रले भाग लिएका छन् । आइतबार चलचित्र संघको हलमा चलचित्र हेरेर एवार्डका लागि मनोनयन सार्वजनिक गरिनेछ ।
यो वर्षको एवार्डका कार्यक्रमका लागि विशेष श्रेष्ठ, नारायण पुरी, रक्षा सिंह राणा, भरत शाक्य, करुण थापा, विरेन्द्र हमाल जुरीको रुपमा रहेका छन् । हरेक दिन २ वटा चलचित्र जुरीले भोलीबाट हेर्न सुरु गर्नेछन् । वि.सं २०७१ साल वैशाख १ गतेबाट वि.सं २०७१ साल चैत्र मसान्तसम्म प्रदर्शनमा आएका चलचित्र एवार्डमा सहभागी भएका छन् । अन्तरराष्ट्रिय कलाकार फोरम कतारको सहकार्यमा एवार्ड आयोजना हुन लागेको हो ।
कार्यक्रममा कलाकारहरु जीवन लुइटेल, करिश्मा मानन्धर, ऋचा शर्मा, शिल्पा पोख्रेल, शोभित सिंखडा, गजित बिष्ट, सुरक्षा पन्त, नन्दिता केसी, केकी अधिकारीले संयुक्त रुपमा केक काटेका थिए ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले पुराना जुरी मात्र होइन नया पुस्तालार्इ पनि जुरीमा समावेश गर्नुपर्ने आवश्यकता औंलाए ।
जुरीका तर्फबाट निर्देशक नारायण पुरीले अवार्डलाई विवादबाट टाढा राख्न नसकिएपनि यसलाई कम गर्न प्रयास गर्ने बताए । नायिका करिश्मा मानन्धरले नेफ्टा हरेक वर्ष माथि उक्लदै एवार्ड गर्न सक्षम भएको बताइन् ।













