लोकगीत अब संस्कृतिको परिचायक मात्र रहेन यो त दर्शक तताउने साधन बन्दै गएको छ । चौबन्दी र पटुकी लगाएर लोकगीत गाउने र नाच्ने परम्पराप्रति केही गायिकाहरुले चुनौति समेत दिएका छन् । सबै भन्दा बढी विवादमा यतिवेला छिन् लोक गायिका ज्योति मगर ।

विदेशमा कार्यक्रम प्रस्तुत गर्दा होस् या नेपाली टेलिभिजनमा अन्तरवार्ता दिँदा होस् गायिका मगरको पहिरनले विवाद निम्त्याउने गरेको छ । पछिल्लो समय उनले युएईको स्टेजमा गीत गाउँदा दर्शक थाम्न नसकेर कार्यक्रम नै स्थगित गर्नुपरेको छ ।

गीतसँगै ग्ल्यामर पस्कने अर्की लोक गायिका हुन् कोमल ओली । ‘पोइल जान पाम’ भन्ने बोलको तीज गीत गाएर उनी जति चर्चा र आलोचनको पात्र बनिन् त्यति नै उनलाई स्टेज गायनका लागि माग गर्नेहरुको संख्या पनि बढ्दै गयो । ओली अधिकांश समय देश र देशबाहिरका सांगीतिक कार्यक्रममा व्यस्त रहेकी छिन् । कार्यक्रम प्रस्तुत गर्ने क्रममै जुन देशमा पुग्यो त्यहीँ ग्यालमर पोजमा तस्वीर खिच्नु उनको सोख हो । यतिवेला अष्ट्रेलियामा रहेकी ओलीले हाफ प्यान्टमा सजिएर सेक्सी पोजमा खिचेको तस्वीर सार्वजनिक गरेकी छिन् ।
दुई दशकपहिले प्रेमराजा महतसँग ‘सिमसिमे पानीमा’ गाएर वर्षौं भूमिगत भएकी लोकगायिका रेखा शाह पनि यतिवेला नयाँ हट अवतार लिएर सार्वजनिक भएकी छिन् । दुई दशक पुरानो ‘सिमसिमे पानीमा’ बोलकै गीतलाई पुनः रेकर्ड गरी अत्यन्त कामुक म्युजिक भिडियो समेत शाहले तयार पारेकी छिन् । त्यति मात्र होइन शाहले सेक्सी पोजका तस्वीरहरु खिचेर सार्वजनिक समेत गर्न थालेकी छिन् ।
लोक गायिकाहरुको यो ग्ल्यामर प्रेमले अब लोकगीत संस्कृतिमा मात्र सिमित नभई सेक्स अपिलतिर उन्मुख भएको विश्लेषण हुन थालेको छ ।













