बिहान साढे आठ बजेसम्म उसको छोरो एकदम ठीकठाक थियो । गए राति एघार बजे अलिअलि पेट दुख्यो मात्र भन्दै थियो । तैपनि राति बाह्र बजेसम्म ऊ निदाइसकेको थियो । छोरो निदाएपछि साढे बाह्रतिर ऊ पनि निदायो । एक बजेसम्म त उसकी स्वास्नी पनि निदाइसकेकी थिई क्यार !
बिहान ऊ सवा पाँच बजेतिर उठ्यो ।
साढे पाँचसम्म त उसले नित्यकर्म पनि सिध्याइसकेको थियो । छ बजेसम्म के गरुँ, कसो गरुँ भन्दै बितायो । सवा छसम्म टन्न उज्यालो भइसकेको थियो । सारै भएपछि छ बीसमा उसले आफ्नो थोत्रो टेम्पोलाई धुने, पखाल्ने निश्चय ग¥यो । साढे छ बजेदेखि सातका बीचमा टेम्पो मजाले पखाल्यो । एक छिनलाई उसको टेम्पो टिलिक्क टल्क्यो ।
सवा सातमा ऊ फेरि रित्तो जस्तो भयो । साढे सातमा स्वास्नीले आलमुनियमको गिलासमा चिया ल्याई । पौने आठसम्म उसले चिया सिध्यायो । सात पचाससम्म त उसको छोरो पनि उठिसकेको थियो । केही काम नदेखेपछि टेम्पोलाई बाहिर घाममै छाडेर आठ बजेतिर ऊ चोकमा आयो । चोक सुनसान देखेपछि सवा आठ बजेतिर ऊ मूलसडकमा पुग्यो ।
नौ बजेसम्म सडकमा उभिएर उसले मान्छेको विशाल हूल हेरिह्यो । आज बन्द भन्ने कुरा उसले अस्ति दिउँसो एक बजे नै थाहा पाइसकेको थियो । बन्दले गर्दा आज ऊ बेरोजगार भएको छ, नत्र त ऊ बिहान पाँच बजे टेम्पो लिएर हिँडिसक्थ्यो । दश बजेसम्म त सय, सवा सय पनि भइसक्थ्यो । अफिस जानेहरुको रमिता, सधैँ मोटर र कारमा गुड्नेहरुको पसीना र दुर्दशा, उँघिरहेका पुलिसहरु, भौँतारिरहेका कुकुरहरु, नगरपालिकाले कैयौँ दिनदेखि नउठाएको फोहोरका थुप्रो, सफासुग्घर र ‘हरित उपत्यका बनाऔँ’ लिखित च्यातिएका पोस्टर आदि–इत्यादि हेर्दाहेर्दा दिक्क भएपछि साढे नौ बजेतिर ऊ फेरि कोठामै फक्र्यो ।
नौ पैँतालीसमा कोठामा आउँदा बाहिरै उसले स्वास्नी रोइरहेको सुन्यो । आठ बजेसम्म त सबै कुरा सहज थियो; अहिले के भएछ, ऊ छक्क प¥यो । कोठाभित्र पुगेपछि उसले थाहा पायो— साढे आठदेखि नै छोराको पेट दुख्न थालेछ । नौ बजेदेखि एकदमै दुख्न थालेछ । सवा नौसम्म असह्य भएपछि स्वास्नी अतालिएर रून थालिछ ।
पौने दशसम्म छरछिमेक पनि आइपुगे । दश बजेसम्म सल्लाह दिने र वाल्ल परेर सल्लाह सुनिरहने क्रम चलिरह्यो । दश दशमा बल्ल एउटा शिक्षित युवकले छोरालाई तुरून्त अस्पताल लैजानुपर्छ भन्ने सल्लाह दियो र सबैले त्यसै सल्लाहलाई समर्थन गरे । त्यसपछि साढे दश बजेसम्म अस्पतालसम्म कसरी लैजाने भन्नेबारेमै दश थरी कुरा भइरहे । पौने एघारसम्म उसले टोलभरि साइकलको खोजी गर्यो । तर कसैबाट पनि उसलाई साइकल प्राप्त भएन । आफ्नो घरबेटीको छोराले पनि जुलुशमा जानु छ भनेर साइकल नदिएपछि एघार बजे उसले अठार वर्षीय छोरालाई पिठ्यूँमा बोक्यो । चाबेलदेखि वीर अस्पतालसम्म ।
ऊ साढे बाह्र बजे अस्पताल पुग्यो । थकित । पसीनाले निथु्रक्क । यसो केही मद्दत गरिहाल्छन् कि भन्ने सोचेर ऊ गौशालामा साढे एघार बजेतिर एक जना चिनेको डाक्टरको घरमा पुगेको थियो । पप्लु खेल्न व्यस्त डाक्टरले ठाडै जाँच्न अस्वीकार गरेपछि ऊ निराश भएर एघार चालीसमा त्यहाँबाट निस्केको थियो । पौने बाह्रदेखि त छोरो असह्य वेदनाले उसको पिठ्यूँमा छटपटिन थाल्यो ।
बेन्चमा छोरालाई सुताएर बाह्र पैँतालीसदेखि पचाससम्म उसले यताउता डाक्टरहरुलाई खोजिरह्यो । एक बजे उसले बल्ल एउटा डाक्टरलाई फेला पा¥यो । सवा एकसम्म डाक्टरले उसको छोरालाई ओल्टाईपल्टाई जाँच गर्यो । डेढ बजे छोरा एक्कासी बेहोश भएपछि डाक्टरले एक घण्टाभित्रै अपरेसन गर्नुपर्छ नत्र एपेन्डिक्स फुट्न सक्छ भन्ने सुझाव र त्रास एकसाथ दियो । कागजमा दुईतीन थरी इन्जेक्सनको नाम लेखिदिएपछि उसले आफूसित भएको पैसाले एक चालीसमा अस्पतालअगाडि एउटा ढोका मात्र खुलेको औषधि पसलबाट इन्जेक्सनहरु किन्यो र आर्थिक रुपले पनि रित्तो भयो ।
एक पचासमा डाक्टरले लाग्ने खर्चको हिसाब दिएपछि उसको मगजमा पुनः एक पटक बाह्र बज्यो र अभावको घामले पोल्यो । दौडादौड गरेर अढाई बजे ऊ फेरि डेरामा आत्तिँदै र झन्डैझन्डै रूँलाझैँ गर्दै आइपुग्यो । स्वास्नीसित “तैँले कतै लुकाएर राखेकी छस् कि ?” भनी सोध्यो । “साहूको टेम्पो चलाएर दिनभरिमा तिमीले कमाउने सय–पचासले साँझबिहानको छाक टार्न त मुश्किल हुन्छ, मैले कसरी लुकाउनु र जम्मा गर्नु ?” भनेर प्रतिप्रश्न गर्दै स्वास्नी पौने तीनसम्म रोइरही । ‘हो पनि, साँझ कमायो बिहान खायो, बिहान कमायो साँझ खायो गर्नेसित पनि पैसा कसरी होस् ?’ भन्ने विचार गर्दै ऊ मदतका लागि साढे तीन बजे उमेशकहाँ पुग्यो ।
“हिजो ट्याक्सीबाट तीन सय कमाएको; के गर्ने, बिहानै घरबेटीलाई दिनुपर्यो ! बन्द नभएको भए यतिन्जेल चारपाँच सय भइसक्थ्यो । साहूकहाँ जान सके हजार–बाह्र सय त पत्याउँथ्यो, तर महाराजगन्ज पुग्नुपर्छ । पुग्नै तीन घण्टा लाग्छ ।” उमेशले यसो भनेपछि ऊ निराश हुँदै चार बजे दीपककहाँ पुग्यो । दीपकको विक्रम टेम्पोलाई हिजो बसले हिर्काएकाले ऊ आफैँ खाँचोको स्थितिमा रहेछ । त्यसैले ऊ त्यहाँबाट पनि लाचार, निराश र हताश भएर साढे चार बजे निस्क्यो ।
आँखामा आँसु, मनमा भक्कानो, अनुहारमा याचना, हिँडाइमा अत्यास आदि भावहरु लिएर ऊ पाँच बजे रमेशकहाँ पुग्यो । अस्ति तीन बजे ऊ र रमेशबीच भनाभन भएको थियो । दुवैले आजीवन एकअर्कासित नबोल्ने प्रण पनि त्यतिखेरै गरेका थिए । पाँच दशसम्म त ऊ रमेशका अगाडि केही बोल्नै सकेन । आँखाबाट आँसु मात्र झारिरह्यो । सवा पाँचसम्म त रमेश पनि अवाक् भइरह्यो । पाँच बीसमा बल्ल दुवै जना सहज भएपछि रमेशले उसको पीडा सोध्यो ।
रोकिँदै, रूँदै, अप्ठ्यारो मान्दै उसले साढे पाँचमा बल्ल आफ्नो छोरो सिकिस्त भएको, अस्पताल लगेको, डाक्टरले दिउँसै अपरेसन गर्नुपर्छ भनेको तर यतिखेरसम्म पनि पैसाको बन्दोबस्त हुन नसकेको यावत् कुरा भन्यो ।
रिक्सा चलाउँदा–चलाउँदा जीउ कठोर भए पनि रमेशको मन सारै नरम थियो । त्यसैले रिक्सा किन्न भनी सँगालेर राखेकोे जम्मै रकम रमेशले पाँच पैँतालीसमा उसका हातमा राखिदियो र भन्यो, “रिक्सा भन्ने कुरा किन्दै गरौँला । जाऊ, आफ्नो छोरालाई बचाऊ ।”
अनुहारभरि कृतज्ञताको भाव लिएर ऊ पाँच चालीसमा रमेशको कोठाबाट निस्क्यो । मूल सडकमा पौने छ बजेतिर पुगेपछि उसले सोच्यो— ‘आज बन्द नभइदिएको भए सवा छसम्म त अस्पतालमै पुग्थेँ ।’
यतिन्जेल के भइसक्यो होला भन्ने सोच्दै ऊ साढे छ बजे अस्पताल पुग्यो ।
साढे सात बजे डाक्टर अपरेसन थिएटरबाट निस्क्यो ।
ऊ अतालिँदै डाक्टरछेउ पुग्यो । पौने आठसम्म डाक्टरले केही भन्न सकेन ।
बल्लबल्ल आठ पचासमा डाक्टरले उसको छोरो अब संसारमा नरहेको जानकारी दियो र भन्यो, “आधा घण्टा मात्रै चाँडो आएको भए पनि बचाउन सकिन्थ्यो ।”
उसले मृत छोराका बन्द आँखा हेर्यो— नौ बजे ।
बन्द राजधानीलाई हेर्यो— नौ पाँच बजे ।
नौ दशमा उसको वाक्य बन्द भयो ।
नौ पन्ध्रमा उसकी स्वास्नी पनि त्यहीँ आइपुगी । बन्द अनुहार लिएर दुवै नौ बीसमा अस्पतालबाट पुत्रविहीन स्थितिमा निस्के ।
नौ तीस बजे रेडियो चिच्यायो— बन्द शान्तिपूर्ण नै रह्यो !
तर नौ पैँतालीस अर्थात् समाचारको समाप्तिसम्म पनि रेडियोले हर्कबहादुरको मनको अशान्तिबारे केही भनेन र उसको छोराको जीवन बन्द भएकोबारे पनि केही भनेन । समाचार सकिएपछि नौ पचासमा कसैले रेडियो बन्द ग¥यो र टेलिभिजन खोल्यो । त्यतिखेर राजधानीमा हर्कबहादुर र उसकी स्वास्नी कोठासम्म आइपुग्ने बाटो र शेष जीवन बाँच्ने बहाना खोज्दै थिए ।
हर्कबहादुरहरु घर पुग्दा बाह्र बजिसकेको थियो । हर्कबहादुरहरुकोे जीवनमा यसरी नै सधैँ बाह्र बजिरहेको हुन्छ ।














