‘नाईं नभन्नु ल’ र त्यसको सिक्वेल ‘नाईं नभन्नु ल २’ लाई दर्शकले अत्याधिक रूचाएपछि निर्देशक विकास आचार्यले तेस्रो सिक्वेलको रूपमा ‘नाईं नभन्नु ल ३’ बनाए । आगामी चैत्र २७ गते रिलिज हुने उक्त फिल्मको फस्टलुक पोस्टर रिलिज गरिएको छ ।
शाहिल खानले डिजाईन गरेको ‘नाईं नभन्नु ल ३’को पोस्टरमा फिल्मका मुख्य पात्रहरू आर्यन सिग्देल, प्रियंका कार्की, अनुभव रेग्मी, सफला भट्टराई, सञ्चिता लुईटेल, सुरज सिंह ठकुरी, संयम पुरी र आश्मा डिसीलाई प्रस्तुत गरिएको छ । फिल्मको पोस्टरले मायाप्रेमको कथा झल्काउँछ ।
सांगीतिक प्रेमकथामा बनेको ‘नाईं नभन्नु ल ३’लाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । वान टाइम सिनेमा प्रालीको व्यानरमा बनेको यो फिल्मका लेखक तथा निर्माता विकास आचार्य हुन् ।
फिल्ममा बसन्त सापकोटाको संगीत छ जसले ‘नाईं नभन्नु ल २’मा ब्लकबस्टर संगीत दिएका थिए । यो फिल्मको संगीत पक्षलाई पनि रूचाईएको छ । गत बर्षको गीतको तुलनामा यो बर्षको गीत अझ राम्रो भएको संगीतकार सापकोटाको दाबी छ ।
यता निर्देशक आचार्यले ‘नाई नभन्नु ल’को सिरिजको सबैभन्दा उत्कृष्ट ‘नाईं नभन्नु ल ३’ नै बनेको बताए । उनले ‘नाईं नभन्नु ल ३’ आफ्ना विगतका फिल्मभन्दा सफल हुने दाबी गरे ।














